२०८२ फाल्गुन २३ गते, शनिबार १४:३०
  • ‘लामो दुरीको अन्तरमहादेशीय उडानको लागि भैरहवा विमानस्थल नै उपयुक्त’

    गतिशिल लोकतान्त्रिक पार्टीद्वारा पर्यटन सम्बन्धी अवधारणापत्र प्रस्तुत


    भैरहवा -गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तरमहादेशीय उडानको लागि उपयुक्त भएको एक कार्यक्रममा बताइएको छ। गतिशिल लोकतान्त्रीक पार्टीले विहिवार भैरहवामा आयोजना गरेको कार्यक्रममा पर्यटन र उड्यन सम्बन्धी अवधारणा प्रस्तुत गरिएको थियो।

    कार्यक्रममा गतिशिल लोकतान्त्रिक पार्टीका नेता तथा बुद्ध एयरका कार्यकारी अध्यक्ष विरेन्द्र बस्नेतले अवधारणापत्र प्रस्तुत गर्दै लामो दुरीको अन्तरमहादेशीय गौतम बुद्ध विमानस्थल उपयुक्त भएको धारणा राखे। ‘भौगोलिक कारणले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४–५ घण्टा भन्दा बढि उड्ने ठूला जहाज उडान हुन सक्दैन।’ उनले भने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लस एन्जल्स, न्युयोर्कसम्म पनि डाइरेक्ट जहाज उडान गर्न सक्ने क्षमता रहेछ। एयरबससँगको हाम्रो सहकार्यमा टेक्नीकल क्याल्कुलेसनमा यो सम्भावना छ भनेर पुष्टी भएको कुरा हो।’

    गतवर्ष भैरहवा एयरपोर्टमा कतार एयरवेजको वाइडबडी जहाजको अवतरणले पनि त्यो कुरा पुष्टी गरेको बस्नेतको भनाइ छ। भैरहवा र दिल्लीे विमास्थल उस्तै भोगोलिक उचाइमा भएको उनले बताए। ‘दिल्ली एयरपोर्टबाट सबै डेस्टीनेसनमा सिधा उडान हुन्छ। भैरहवाबाट दिल्लीबाट सबै गन्तव्यमा एयरबसको ३६९ सिट क्षमताको जहाज उडाउन सकिन्छ भनेर एयरबसले हामीलाई भनेको छ ।’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पर्यटन भित्राउने अबको विकल्पको रुपमा रहेको कार्यक्रममा बताइएको थियो। काठमाडौंको विमानस्थलले धेरै चाप थेग्न नसक्ने भन्दै बस्नेतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ढिलो चाँडो चलायमान हुने दाबी गरे।

    नेपालको पर्यटन क्षेत्रलाई कायापलट गर्न नेपाल वायुसेवालाई नै पुनसंरचना गर्नुपर्ने बस्नेतको तर्क छ। ‘अहिले हामीले कुनै विदेशी एयरलाइन्सलाई आउनुस् भनेर आउने वाला छैन। त्यसैले नेपाल एयरलाइन्सले नै यहाँ उडान भर्नुपर्छ। त्यसको लागि हामीले पुनसंरचना गरेर लैजानुपर्छ।’ उनले भने ‘पुनसंरचना गर्न नेपाल एयरलाइन्सलाई पब्लीक लिमिटेडमा लैजानुपर्छ।’

    पब्लीक लिमिटेडमा लैजादा २० प्रतिसत स्वामित्व नेपाल सरकारमै रहनुपर्ने र ७० प्रतिसत स्वामित्व आम नेपाली जनतामा आउनुपर्ने कार्यक्रममा बताइएको थियो। लोकतान्त्रीक गतिशिल पार्टीले सरकार चलाउन पाएमा ३ देखी ६ महिना भित्र यो काम गर्न सक्ने बस्नेतले बताए। पुनसंरचना भएपछि नेपाल एयरलाइन्सको कम्तीमा ५ वटा एयरबस ३५० जहाज पहिलो वर्ष ल्याउनुपर्ने बस्नेतको भनाइ छ। ‘एउटा जहाजले वर्षको १ लाख भन्दा बढिलाई सेवा दिन सक्दैन। अब यो राष्ट्रले बर्षको ५ लाख नयाँ पर्यटक कम्तीमा भित्राउन पर्यो। यसका लागि हामीलाई २५ अर्बको लगानी चाहिन्छ। त्यसको लागिे लिज फाइनान्समा किन्न सकिन्छ।’ उनले भने।

    कार्यक्रममा पार्टीका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक दिनेश प्रसाईले राजनीतिक दलहरूले समयानुकूल परिवर्तनलाई सम्बोधन गर्न नसक्दा समाजमा असन्तोष र आन्दोलन उत्पन्न भएको बताए। ‘समाजमा भइरहेको ग्यापले विग्रह ल्याएको छ, त्यसैले हाम्रो पार्टीले आर्थिक रूपान्तरण र सुशासनलाई मुख्य मन्त्र बनाएको हो,’ उनले भने ।
    लगानी बोर्डका पूर्व सीईओ राधेश पन्तले पार्टीले आर्थिक क्षेत्रमा आफ्नो ४० वर्षको अनुभवलाई आधार बनाएर मुलुकमा रोजगारी बृद्धिका लागि पर्यटन प्रमुख खम्बाका रुपमा रहेको बताए।

    त्यसपछि कृषि, शिक्षा र सूचना प्रविधिको बिकास गरेर मुलुक समृद्ध तुल्याउन सकिने निष्कर्षसहित पार्टीले एजेण्डा केन्द्रित अभियान सञ्चालन गरेको उनको भनाइ छ । पार्टीका अर्का सदस्य तथा पर्यटन क्षेत्रका अध्यता महतोले पार्टीले अनुमानका भरमा एजेण्डा प्रस्तुत नगरेको बताए। टेबुलमा बसेर बिमर्श गरेर र कम्प्युटरमा तथ्यांक केलाएर वास्ताविकतामा आधारित मुलुक बनाउने एजेण्डा प्रस्तुत गरिएको जानकारी दिए।

    कार्यक्रममा उपस्थित सहभागी व्यवसायी तथा सरोकारवालाहरुले प्रस्तुत अवधारणा राम्रो भएपनि कार्यान्वयन हुनेमा आसंका रहेको बताएका थिए। उनीहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदा ठूलो आशा रहेको र अहिले अन्तर्राष्ट्रिय उडान नियमित नभएको बताएका थिए। गतिशिल नेपाल पार्टीले चुनावपछि आफ्नो पार्टी सत्तामा आएपनि नआएपनि अवधारणा कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता गरेको थियो।