२०८२ फाल्गुन २३ गते, शनिबार १४:३०
  • भैरहवा विमानस्थलमा जापान र कोरिया जानेहरुको चहलपहल

    ‘नजिक हुँदा सहज भएको छ, श्रम मेडिकल लगायत सबै सुविधा यहीबाट होस्’


    भैरहवा– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा २ दिन चहलपहल बढ्ने गरेको छ। कात्तिक ९ गतेदेखी थाइ एयर एशियाले प्रत्येक आइतबार र बुधबार भैरहवाबाट उडान गर्दैआएको छ। भैरहवा-बैंकक उडान हुने दिन विमानस्थलको अन्तर्राष्ट्रिय उडानको प्रस्थान कक्षमा विदेश जाने यात्रु र विदाइ गर्न आएका आफन्तको भिड लाग्ने गरेको छ। विदेश उड्नेहरुको लाइनमा धेरैजसो बैंकक हुँदै जापान र कोरिया जानेहरु हुने गरेका छन्।

    आइतबार विहान पनि १० बजेदेखी अन्तर्राष्ट्रिय कक्षमा लाइन सुरु भइसकेको थियो। जापान जान कागजपत्र सहित लाइनमा बसेकी टीना थारुले भैरहवाबाट प्रस्थान गर्न पाउँदा धेरै सहज भएको बताइन्। ‘काठमाडौं जान गाह्रो छ। समय समयमा बाटो विग्रीन्छ, यहाँबाट धेरै सहज भएको छ।’ उनले भनिन ‘परिवार पनि एयरपोर्टसम्म छोड्न आउनुभएको छ।’

    रुपन्देही फर्साटिकरका सागर रेग्मी बगाले दोस्रो पटक कोरिया जान भैरहवा एयरपोर्टमा आएका थिए। यसअघि काठमाडौंको एयरपोर्ट भएर जानुपरेको थियो। अहिले भैरहवाबाट उड्न पाउँदा धेरैे सजिलो भएको रेग्मीले सुनाए। ‘हाम्रो लागि घरबाट एयरपोर्टसम्म ओहोर दोहोर गर्न पनि सजिलो भयो।’ उनले भने ‘श्रम, मेडिकल लगायतका सबै सुविधा यही भयो र उडान नियमित भयो भने हामीलाई अझै राम्रो हुने थियो।’

    रुपन्देहीको गैडहवा गाउँपालिका सुर्यपुराका रविकुमार कुर्मी विमानस्थलमा परिवार र साथीभाइसँग फोटो खिच्दै थिए। उनलाई विदाइ गर्न सात आठ जना गौतम बुद्ध विमानस्थलमा आएका थिए। ‘घरबाट सबै जनाले छोड्न आउन पाउनुभयो। टाढा जान पनि परेन धेरै सजिलो भयो।’ कुर्मीले भने ‘अरु कामको लागि काठमाडौं जान परे पनि फ्लाइटको लागि काठमाडौं जानुपरेन।’

    विदेश जानेका लागि देशका विभिन्न ठाउँबाट आइतबार भैरहवा आएका थिए। उनीहरुले विदेश जान भन्दा अघि काठमाडौं जान नपर्ने वातावरण बन्नुपर्ने बताएका थिए । बझाङबाट कोरिया जान भैरहवा आएका कुम्भराज ऐरले यहाँ सबै सुविधा नहुँदा काठमाडौं भन्दा केही गाह्रो भएको बताए। ‘इपिएसका अफिसियल कामहरु सबै काठमाडौं हुन्छ। त्यसैले हामीलाई आवतजावतको लागि अलि गाह्रो हुन्छ ।’ उनले भने ‘श्रमका काम त अहिले अनलाईनबाट पनि हुन्छ। तर इपिएसबाट हुने कामहरु यहाँबाट भयो भने सजिलो हुन्छ।’

    आइतबार थाइ एयर एशियाको जहाजबाट १२६ जना बैंकक प्रस्थान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए। बैंककबाट आएका २६ जना भैरहवा अवतरण गरेका छन्।