२०८१ आश्विन २१ गते, सोमबार १३:१२
  • म्यानमार-भैरहवा सिधा उडानको लागि पहल

    काठमाडौं– म्यानमारबाट भैरहवा सिधा हवाइ सेवा सञ्चालन गर्नेबारे पहल सुरु भएको छ। नेपाल पर्यटन बोर्डले म्यानमारको राजधानी यागुनबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा सञ्चालनको पहल गर्न उच्चस्तरिय छलफल गरेको हो।
    छलफलमा नेपालका लागि म्यामारका राजदूत र म्यानमारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उच्च अधिकारी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेशनल एयरलाइन्सका कार्यकारी प्रमुख लगायत सहभागी थिए।
    छलफलमा नेपाली पक्षले उडानको म्यानमार तयार रहे आवश्यक सहयोगका लागि नेपाल तयार रहेको बताएका छन्।
    छलफल कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष मैत्य शाक्य पुत्ताले नेपाल र म्यानमार बीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै सिधा उडान हुन सके म्यानमारबाट लुम्बिनी आउने पर्यटकहरु बढने बताए ।
    संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले म्यानमार नेशनल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलमा उडान गर्न नेपालको तर्फबाट विभिन्न छुट, सुविधा तथा अन्य आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको उल्लेख गरे । उनले सिधा उडान गर्न सकेमा दुवै देशले पर्यटनका माध्यमबाट फाइदा लिनसक्ने बताए।

    म्यामारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले म्यानमार भैरहवा सिधा उडानबारे म्यानमारको सरकारीपक्षसँग सम्वाद भइरहको सन्दर्भमा म्यानमारको टोली नै नेपाल आउनुले उडानका लागि थप बल पुग्ने विश्वास व्यक्त गरे।

    नेपालका लागि म्यानमारका राजदूत सेन ओले सिधा उडान गर्नेबारे आफूहरु सकारात्मक रहेको उल्लेख गर्दै यसको प्राविधिक पक्षको अध्ययन पछि नयाँ सम्भावनाबारे जानकारी गराउने प्रतिवद्धता व्यक्त गरे।

    बौद्धमार्गी म्यानमारबाट लुम्बिनीमा सिधा उडान गर्न सके धार्मिक पर्यटन प्रर्वद्धन गर्न सघाउ पुग्ने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताए।