२०८२ फाल्गुन २३ गते, शनिबार १४:३०
  • भैरहवाबाट यस्तो हुनेछ जापान र कोरियाको यात्रा

    भैरहवा -अहिले सातामा दुई पटक बैंकक-भैरहवा-बैंकक उडान भइरहेको छ। थाई एयर एशियाको जहाजले प्रत्येक आइतबार र बुधबार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानर अवतरण गरिरहेको हो। यो उडानले भैरहवा र बैंकक मात्र जोडिएको छैन। अरु केही देश पनि भैरहवासँग हवाइ सञ्जालमा जोडिएका छन्।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने धेरै जसो यात्रु जापान र कोरिया जानेहरु छन्। एउटै टिकटमा भैरहवाबाट बैंकक हुँदै कनेक्टिङ फ्लाइट मार्फत जापान र कोरिया जान सकिने थाइ एयर एशियाका कन्ट्री म्यानेजर सागर चित्रकारले बताए।

    तालिका अनुसार दिउसो सवा १ बजे थाई एयर एशियाको जहाज भैरहवाबाट उडान गर्छ। ३ घण्टा २५ मिनेटमा बैंकक पुग्छ। जापानको लागि ८ घण्टा जति बैंककमा ट्रान्जिटमा बस्नुपर्छ। स्थानिय समय अनुसार विहान १० बजेर ४५ मिनेटमा जापनको नारिता विमानस्थलमा जहाज अवतरण हुन्छ।

    भैरहवाबाट कोरिया जाने क्रममा बैंककमा सात आठ घण्टा ट्रान्जिट बस्नुपर्ने हुन्छ। बैंककबाट उडेको जहाज स्थानिय समय अनुसार विहान १० बजेर ५ मिनेटमा दक्षिण कोरियाको सिओल विमानस्थलमा अवतरण हुन्छ।

    जापानबाट भैरहवा आउन पनि सहज

    जापानबाट भैरहवा आउन पनि सहज छ। नारिताबाट स्थानिय समयअनुसार राती सवा ९ बजे जहाज उड्ने छ। बैंककमा झण्डै ७ घण्टाको ट्रान्जिट हुन्छ। त्यहाँबाट उडेको जहाज दिउसो सवा १२ बजे भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दछ। तर कोरियाबाट भैरहवाको आउनको लागि भने कनेक्टिङ उडान छैन। एकरात बैंकक बसेर भिसा प्रक्रिया मिलाएर आउनुपर्ने हुन्छ।

    अरु उडान भन्दा थाइ एयर एशियाको उडानमा केही सस्तो हुने कन्ट्री म्यानेजर चित्रकारले बताए। ‘विद्यार्थीहरु भएमा हाम्रोमा आँफूले चाहेजति लगेज लिन पाइन्छ। अरुमा लगेज निश्चित हुन्छ। टिकटमा उल्लेख गरिएको भन्दा बढि लगेजको लागि महंगो पर्छ। तर एयर एशियामा त्यस्तो छैन।’ उनले भने।

    जापान र कोरिया मात्र होइन। भैरहवाबाट मलेशिया र भियतनाम पनि आवतजावतमा सहज भएको छ। एउटै टिकट र भिसा प्रक्रियाबाट मलेशिया र भियतनाम पनि आवतजावत गर्न सकिने एयर एशियाका कन्ट्री म्यानेजर चित्रकारले बताए।