२०८२ फाल्गुन २३ गते, शनिबार १३:०१
  • निगमको डाइभर्ट भएको जहाज अब भैरहवा आउने

    ग्राउण्ड हेण्डलिङ छ भन्दै प्राधिकरणका उपमहानिर्देशकले सम्झाएका थिए

    काठमाडौं- नेपाल वायुसेवा निगमको जहाज काठमाडौबाट डाइभर्ट हुन परेमा भैरहवा आउने भएको छ। मंसिर ३ गतेबाट लागु हुने गरि कुनै पनि कारणले डाइभर्ट गर्नुपर्ने अवस्थामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अल्टरनेटिभ बैकल्पिक एयरपोर्टका रुपमा प्रयोग गर्ने निर्णय भएको निगमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

    भैरहवाको विमानस्थललाई अल्टरनेटिभ विमानस्थल बनाउँदा उल्लेखनिय खर्च कटौती भइ समयको बचत हुने विश्वास लिइएको निगमका प्रवक्ता अनिल घिमिरेले जानकारी दिए। गत शुक्रबार बिहान दुबईबाट काठमाडौं आउँदै गरेको नेपाल वायुसेवा निगमको ’आरए २३०’ जहाज दिल्ली डाइभर्ट भएको थियो। देश भित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदा अर्को देशमा डाइभर्ट भएको भनेर निगमको आलोचना भएको थियो।

    नेपाल नागरिक उड्यन प्राधिकरणका एक अधिकारीले भैरहवामा ग्राउण्ड हेण्डलिङ रहेको सम्झाएपछि निगमको सञ्चालक समितिले सोमबार यो निर्णय गरेको हो। यस अघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक समेत रहेका प्राधिकरणका उपमहानिर्देशक प्रतापबाबु तिवारीले भैरहवा विमानस्थलमा निगमको आफ्नै ग्राउण्ड हेण्डलिङ सञ्चालन भएकाले डाइभर्टका लागि देश बाहिर जान नहुने सुझाब दिएका थिए। डाइभर्ट गर्न देश बाहिर जाँदा राम्रो सन्देश नजाने तिवारीको भनाइ थियो। निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक विमानस्थल बनाउने अध्ययन प्रक्रिया सुरू गर्ने बताएको छ।