२०८१ आश्विन २१ गते, सोमबार ०९:१३
  • नेपालले अंग्रेजलाई पराजित गरेको सम्झनामा बुटवलमा मनाइयो जितगढी उत्सव

    बुटवल – १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । २०८ वर्ष अघि अंग्रेजसँगको युद्धमा नेपालले विजय हासिल गरेको सम्झनामा बिहीबार बुटवलमा जितगढी उत्सव मनाइएको छ ।
    जितगढी उत्सव अन्तर्गत गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो । गत चैत्र २८ गते गोरखादेखि राज्य एकीकरण मार्ग हुँदै विजय उत्सव मनाउन हिडेको टोली बैशाख ७ गते बिहीबार बुटवलको जितगढी आइपुगेको हो ।
    चैत २८ गते नेपाली सेनाका क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जनाको टोली गोरखाबाट बुटवलको जितगढीका लागि पैदलयात्रामा निस्केको थियो ।


    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल लगायत पूर्वजनप्रतिनिधि, संघसंस्था तथा स्थानीयले पैदलयात्रामा सहभागी टोली र नेपाली सेनाका मध्यपश्चिम पृतनापतिसहितको टोलीलाई स्वागत र सम्मान गरेका थिए ।
    बुटवल १ को गणेश मन्दिर नजिकैबाट बाजागाजासहित शुरु भएको पैदलयात्रीसहितको विजय ¥याली जितगढी किल्लामा पुगी समारोहमा परिणत भएको थियो । सो अवसरमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले जितगढी किल्ला अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न जरुरी रहेको उल्लेख गरे । उनले जितगढी किल्लाले बुटवलको पहिचानलाई उच्च बनाउँदै लगेकोले किल्लाको संरक्षण र पर्यटन प्रवद्र्धनलाई उत्तिकै महत्व दिनुपर्ने बताए ।
    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जितगढी किल्लाको ऐतिहासिक र पुरातात्विक महत्वलाई स्थापित गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताए ।
    नेपाली सेनाका मध्यपश्चिम पृतिनापति यामप्रसाद ढकालले नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई बलियो बनाउँदै युद्ध पर्यटनको रुपमा जितगढी किल्लाको प्रवद्र्धन गर्नुपर्ने धारणा राखे ।
    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका पूर्वप्रमुख शिवराज सुवेदी, अध्येता निर्मल श्रेष्ठ, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजु, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललगायतले बोल्दै जितगढी किल्लाको संरक्षण र पर्यटन प्रवद्र्धनमा भएको प्रयासले बुटवलले लाभ लिनसक्ने बताएका थिए ।