२०८२ फाल्गुन २३ गते, शनिबार १३:०१
  • उडान तालिका भएर पनि मलेसियाबाट भैरहवा किन आउँदैन निगमको जहाज?


    भैरहवा – नेपाल नागरिक उड्यन प्राधिकरणले प्रकासित गरेको तालिकामा मलेशिया भैरहवाको उडान पनि छ। प्राधिकरणले हालै प्रकासित गरेको सितकालिन उडान तालिका अनुसार नेपाल बायुसेवा निगमको जहाज सातामा एक पटक भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउनुपर्ने हो। प्रत्येक मंगलबार क्वालालाम्पुर भैरहवा काठमाडौं उडान गर्ने तालिका यथावत रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानथलका प्रवक्ता श्याम किशोर शाहले बताए। तर नेपाल बायुसेवा निगमको जहाज अन्तर्राष्ट्रिय उडानको लागि भैरहवा नआएको थुप्रै महिना भइसकेको छ।

    २०८० जेठमा नेपाल बायुसेवा निगमले क्वालालाम्पुर भैरहवा काठमाडौं उडान सुरु गरेको थियो। सोही साल भदौ महिनामा निगमले भैरहवाबाट हङ्कङ र दिल्लीमा ट्रान्जिट उडान पनि थालेको थियो। मलेसियाबाट आएको जहाजमा कतिपय यात्रु भैरहवा झर्ने, केही भैरहवाबाट प्रस्थान गरि काठमाडौंमा ट्रान्जिट भइ दिल्ली र हङ्कङ जाने व्यवस्था थियो। एक वर्षजति यो रुटमा नेपाल एयरलाइन्सको जहाज चलेको थियो।

    २०८१ जेठबाट भने मलेसियाबाट निगमको जहाज भैरहवा आएको छैन। तर त्यसयता नागरिक उड्यन प्राधिकरणले प्रकासित गरेको चारवटै उडान तालिकामा बायुसेवा निगमको भैरहवा उडान उल्लेख छ। एक वर्ष अघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातीमा बन्द हुँदा नेपाल बायुसेवा निगमले काठमाडौं भैरहवा कतार उडान गरेको थियो। गत चैत्रपछि कतार जाने निगमको जहाज पनि आउन छोड्यो।

    नेपाल वायुसेवा निगमका प्रवक्ता अनिल घिमिरेले भैरहवामा फेरि उडान गर्ने प्रयास गरिरहेको बताए। ‘त्यतीखेर हामीले सम्भव देखेर मलेसियाबाट भैरहवा उडान गरेका थियौं। अहिले उडान छैन।’ उनले भने ‘बीचमा यात्रुहरु अलि कमि भए । अब फेरि उडान गर्ने कुरा भइरहेको छ। सम्भव त चाँडै यो रुटमा उडान हुन्छ होला।’

    घिमिरेले भैरहवाबाट अरु रुटमा पनि उडानको योजना बनिरहेको तर जहाज कमि हुँदा गाह्रो भएको बताए। ‘भैरहवालाई चलायमान गर्नुपर्छ। राष्ट्रिय ध्वजावहाकको उडान होस् भन्ने हाम्रो प्रयास हो।’ उनले भने ‘काठमाडौंमा जहाजको कमि हुनाले हामी आक्रमक रुपमा जान सकेका छैनौ। व्यवसायीक संस्था भएकाले निगमले व्यवसायीक पाटो पनि हेर्नुपर्छ।’ निगममा जहाज थपिएमा एउटा जहाज भैरहवा बेस गरेर दुबइ, मलेसिया र अनुमती पाएमा भारतमा समेत चलाउने योजना रहेको घिमिरेले बताए।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेण्डलिङ अहिले निगमले नै सञ्चालन गरिरहेको छ। तर केही दिन अघि काठमाडौं आएको जहाज दिल्ली डाइभर्ट भएको थियो। देशभित्रै अर्को अन्तर्राष्ट्रिय विमानस्थल भएर पनि अर्को देशमा डाइभर्ट भएको भन्दै निगमको आलोचना भएको थियो। त्यसपछि नेपाल बायुसेवा निगमले जहाज डाइभर्ट गर्न परे भैरहवा आउने निर्णय गरेको थियो।