२०८२ फाल्गुन २३ गते, शनिबार १४:०९
  • लुम्बिनी वारिष्टाको अभियान, किसानसंग मिलेर कफी प्रवर्द्धन

    बुटवल– बुटवल मिलनचोकस्थित लुम्बिनी वारिष्टा एण्ड हस्पिटालिटी ट्रेनिङ सेन्टरले शनिबार आफ्नो नवौँ वार्षिकोत्सव मनाएको छ। नेपालका किसानलाई प्रोत्साहन गरी कफीको उत्पादन बढाउँदै बिदेशबाट आयात हुने कफी प्रतिस्थापन गर्ने र हस्पिटालिटी तथा टुरिजम क्षेत्रमा देखिएको जनशक्ति अभावलाई पुर्ती गर्ने लक्ष्यसहित ९ वर्ष अघि स्थापना भएको ट्रेनिङ सेन्टरले अन्तराष्ट्रिय मापदण्डको वारिष्टा तथा हस्पिटालिटी तालिम उपलब्ध गराउँदै आएको छ।

    अन्तराष्ट्रियस्तरकै पुर्वाधार र प्रशिक्षकहरुबाट तालिम दिएर स्थापनाको छोटो समयमै ५ हजार बढी यूवालाई स्वरोजगार बनाउन सफल भएको लुम्बिनी वारिष्टा एण्ड हस्पिटालिटी ट्रेनिङ सेन्टरका म्यानेजिङ डाइरेक्टर शंकर शर्माले बताए। कम्पनीले तालिमसँगै कफीको खेती हुने गाउँमा पुगेर विज्ञहरुलाई समेत साथमै लगेर किसानलाई कफी खेती कसरी सुरु गर्ने, विरुवा उमार्ने, मल–पानी व्यवस्थापन, रोग–कीट नियन्त्रणदेखि रेड चेरी संकलन र प्रशोधनका व्यवहारिक सीपसमेत दिँदै आएको छ। कम्पनीले कफी जोनका रुपमा विकास भइरहेको गुल्मीको मुसिकोट नगरपालिकाको आँपचौरमा त्यहाँका किसानसंग सहकार्य गरेर कफीको खेती, नर्सरी, चेरी संकलन, ग्रेडिङ र प्रशोधन गर्दै आएको छ । यसलाई विस्तार गरेर केही वर्षमै कफीका एक लाख विरुवा बनाउने योजना रहेको प्रालिका एमडी शर्माले बताए।

    ‘नेपालमा अहिले पनि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्ति अभाव छ। त्यहि अभावलाई पुर्ती गर्ने र युवापुस्तालाई अन्तराष्ट्रियस्तरमै रोजगारी पाउन सक्ने गरि दक्ष बनाउने हाम्रो चाहना हो।’, कम्पनीका म्यानेजिङ डाइरेक्टर शर्माले भने, ‘नेपालमा माग अनुसार कफी उत्पादन नहुँदा बिदेशबाट वर्षेनी करोडौँ मुल्यको कफी आयात भइरहेको छ । हामिले कफी खेती गर्न चाहाने किसानलाई आबश्यक तालिम, बिरुवा र प्राविधिक सहयोगसमेत उपलब्ध गराएर यसको उत्पादन बढाउँदै नेपाली ब्राण्डको कफी अन्तराष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्य लिएका छौँ ।’

    कम्पनीका अध्यक्ष सुर्य जिसीले अहिले १२ जना प्रशिक्षकले वारिष्टा, बेकरी र सुसीको बेसीक, एडभान्स र प्रोफेशनल तालिम दिदै आएको बताए । तालिमलाई व्यावसायिकतासँग जोड्दै रोजगारीमुखी बनाउने लक्ष्य रहेको उनले बताए । ‘हामी केवल कागजी प्रमाणपत्र मात्र होइन, व्यवहारिक सीप सिकाउँदै आएका छौं जसले उनीहरूलाई स्वदेश तथा विदेश दुबैतिर अवसर दिलाउनेछ ।’, उनले भने, ‘यहाँ तालिम लिईसकेपछि विद्यार्थीहरु सोझै काम गर्न सक्ने गरि तयार हुन्छन् ।’

    कम्पनीमा लक्ष्मी रिजाल, सन्तोष बुढागगर र प्रकाश थापा पनि आबद्ध छन् भने विभिन्न विषयमा १२ जना प्रशिक्षकहरुले सीप सिकाइरहेका छन् । कम्पनीले तिलोत्तमाको मणिग्राम, भैरहवा र कपिलवस्तुको जितपुर चार नम्बरमा शाखा विस्तार गरी सेवा प्रदान गर्दै आएको छ ।

    भैरहवा शाखाका म्यानेजर लक्ष्मी रिजालले भारतबाट समेत यूवाहरु तालिम लिनका लागि भैरहवा आउने गरेको बताइन् । उनका अनुसार बोल्न, सुन्न नसक्ने व्यक्तीहरुले पनि तालिम लिएर आत्मनिर्भर भएका छन् । वार्षिकोत्सवका अवसरमा तालिम लिइरहेका बिद्यार्थीहरुबीच वारिष्टा, बेकरी र सुसीको प्रतियोगितासमेत आयोजना गरीएको थियो । प्रतियोगितामा सहभागी भएका उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित प्रोत्साहन पुरस्कार समेत प्रदान गरिएको थियो ।