२०८१ आश्विन २१ गते, सोमबार १३:१५
  • बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा सरसफाइ अभियान सुरु

    लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीमा सरसफाइ अभियान सुरु भएको छ । २५६७ औं बुद्धजयन्तीको अवसरमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० शुरु गरिएको हो । शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्र सहित ४ नम्बर र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाई गरेर अभियानको शुरुवात गरेको हो ।

    बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उदेश्यले अभियान शुरु गरिएको कोषका सदस्य सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । अन्र्तराष्ट्रिय पर्यटकीय स्थललाई सफा राख्नका लागि कोषसँगै स्थानीयहरु समेत जागरुक हुनुपर्ने उनको भनाइ छ।

    कोषले नियमित रुपमा सफाई गर्दै आएपनि ४ नम्बरदेखि ५ नम्बर गेटसम्म फाहोर चुनौतीपूर्ण बनेको छ ।
    यसअघि पटक–पटक होटल व्यवसायी र स्थानीयलाई फोहोर नफाल्न आग्रह गरिएपनि फोहोर थुप्रिन नछोडेपछि कोषआफैले सरसफाई अभियान शुरु गर्दै लुम्बिनीलाई सफा राख्न सन्देश दिएको सदस्य सचिव शाक्यले बताए ।
    लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले ५ नम्बर गेट अगाडि फोहोरका बिषयमा पटक पटक छलफल भएपनि यसको दीगो व्यवस्थापन हुन नसक्दा समस्या देखिएको बताए ।

    सरसफाई अभियानमा सदस्य सचिव शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा। हरिध्वज राई, सहित कोषका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु खटिएका थिए । त्यस्तै स्थानीय होटल व्यवसायी, आमा समूह, शसस्त्र प्रहरी र नेपाल प्रहरीको समेत सहभागिता रहेको थियो ।