२०८२ फाल्गुन २३ गते, शनिबार १३:०१
  • कुनैबेला नोभेम्बरमा लुम्बिनीको आन्तरिक पर्यटक २ लाख नाघ्थ्यो, गत महिना ८७ हजार

    लुम्बिनी-गत नोभेम्बरमा ८७ हजार ७४० आन्तरिक पर्यटक लुम्बिनी आएका छन्। अघिल्लो वर्ष सोही अवधिमा अहिलेको भन्दा ८२ हजार बढि पर्यटक लुम्बिनी आएका थिए। २०२४ को नोभेम्बरमा १ लाख ६९ हजार ५७५ जना नेपाल भित्रबाटै घुम्न आएका थिए। यो वर्ष पर्यटकीय सिजनको महिनामा पनि पर्यटक आगमन १ लाख नाघेनन्।

    कोभिड अघिका प्राय वर्ष लुम्बिनीमा आन्तरिक पर्यटक आगमन सवा लाखदेखी २ लाख बढिसम्म हुन्थ्यो। कोभिड अघि २०१९ को नोभेम्बरमा १ लाख २७ हजार १३९ आन्तरिक पर्यटक लुम्बिनी आएका थिए। सबैभन्दा बढि सन् २०१४ को नोभेम्बरमा २ लाख ११ हजार ६६ जना नेपाल भित्रबाट घुम्न आएका थिए।

    २०१५ को नोभेम्बरमा नाकाबन्दीका कारण कमी आयो। त्यो वर्षको नोभेम्बरमा १२ हजार ३९ जनाले मात्र लुम्बिनी घुमे। त्यस्तै २०१६ को नोभेम्बरमा १ लाख ६६ हजार २७७ जना, २०१७ को नोभेम्बरमा १ लाख ३७ हजार ७५७ जना र २०१८ को नोभेम्बरमा १ लाख ३४ हजार ८९१ जना आन्तरिक पर्यटक लुम्बिनी आएका थिए।

    गत नोभेम्बर महिनामा भारत बाहेकका तेस्रो मुलुकबाट १९ हजार ५०९ विदेशी पर्यटक लुम्बिनी आएका छन्। यो अघिल्लो वर्ष सोही अवधिको तुलनामा झण्डै १ हजारले बढि हो। सन २०२४ को नोभेम्बरमा १८ हजार ५३९ विदेशी पर्यटक लुम्बिनी आएका थिए।कोभिड अगाडि सन् २०१९ को नोभेम्बरमा २६ हजार ७७२ विदेशी पर्यटकले बुद्ध जन्मस्थलको भ्रमण गरेका थिए। ६ वर्ष अघि तुलनामा यो वर्ष नोभेम्बरमा तेस्रो मुलुकबाट झण्डै ७ हजार कम पर्यटक आएका हुन्।

    यस्तै छिमेकी मुलुक भारतबाट गत नोभेम्बर महिनामा ३० हजार ७२ पर्यटक आएका लुम्बिनी विकास कोषले जनाएको छ। यो गत वर्ष सोही अवधिको तुलनामा झण्डै साढे २ हजारले कम हो। सन २०२४ नोभेम्मबरमा ३२ हजार ४६८ भारतीय पर्यटक लुम्बिनी आएका थिए। कोभिड अघि सन् २०१९ को नोभेम्बरमा २९ हजार ५६८ भारतीय आएका थिए।