२०८१ आश्विन २१ गते, सोमबार १३:०३
  • गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सको परीक्षण उडान

    तम्घास- गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा रहेको विमानस्थलमाअवतरण भएको हो ।

    निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको हो । विसं २०६३ देखि निर्माण सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल रु ३३ करोड लगातमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि एक हजार पाँच सय २६ मिटरको उचाइमा रहेको छ ।

    आजको उडानपछि व्यावसायिक उडान गर्ने योजना रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । प्राविधिक टोलीले सबै कुराको जानकारी लिएपछि निगमले व्यावसायिक उडान थाल्ने उनको भनाइ छ । कति यात्रु बोक्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडादर निर्धारण गरिने कँडेल बताउँछन्।

    रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते पनि परीक्षण उडान गरिएको थियो। लामो समयपछि जहाज चढेर काठमाडौं जाने गुल्मीवासीको सपना अब चाँडै साकार हुने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए ।