२०८२ फाल्गुन २३ गते, शनिबार १३:०१
  • ५ महिनामा भैरहवाबाट ३७ सय यात्रुले अन्तर्राष्ट्रिय उडानको सेवा लिए

    २७२५ जना प्रस्थान, ९७९ आगमन

    भैरहवा-थाइ एयर एशियाले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान थालेको बुधबार २ महिना पुगेको छ। गत कात्तिक ९ गतेदेखी सातामा २ दिन आइतबार र बुधबार बैंकक भैरहवा बैंकक उडान भइरहेको छ। भैरहवाबाट बैंकक प्रस्थान गर्ने जहाज लगभग भरिभराउ हुन्छ। बैंककबाट भैरहवा आउने यात्रु भने निकै कम हुने गरेका छन्।

    बुधबार १४९ थाइ एयर एसियाको जहाजबाट भैरहवाबाट बैंकक प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए। तर बैंककबाट आएका ११ जना मात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।
    आर्थिक वर्ष २०८२/८३ को हालसम्म भैरहवाबाट कुल २६ वटा अन्तर्राष्ट्रिय उडान र २६ वटा अवतरण भएको छ। यो अवधिमा कुल ३ हजार ७०४ यात्रुले अन्तर्राष्ट्रिय उडानको सेवा लिएका छन्। जसमा २ हजार ७२५ जना भैरहवाबाट प्रस्थान गरेका छन्। तर अन्तर्राष्ट्रिय उडानमा आइ भैरहवामा अवतरण गर्नेको संख्या ९७९ जना मात्र छ।

    चालु आर्थिक वर्षको हालसम्म भैरहवामा भएका कुल २६ उडान र अवतरण मध्ये १८ वटा उडान थाइ एयर एसियाले दुई महिनामा गरेका नियमित उडान नै हुन्। माथि उल्लेखित धेरै यात्रु बैंकक भैरहवा बैंकक उडानकै रहेका छन्। अन्य चार्टर उडानहरु हुन्।

    भैरहवाबाट प्रस्थान गर्नेमा धेरै जापान र कोरिया जाने नेपालीहरु छन्। उनीहरु थाई एयर एसियाको जहाज मार्फत बैंकक हुँदै ति देशमा जाने गरेका छन्। त्यस्तै भारत हुँदै लुम्बिनी आएका थाइल्याण्डका बुद्धिष्ट पर्यटक फर्किनको लागि मात्र भैरहवा विमानस्थल प्रयोग गर्ने गरेका छन्। जसले गर्दा प्रस्ताथ गर्नेको संख्या बढि र आउने यात्रुको संख्या कम देखिएको हो।