
परासी-बुद्ध परिपथमा रहेका चार नगरपालिकाले लुम्बिनीको विद्युतीय सञ्चालन गर्न आग्रह गरेका छन्। रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिका, लुम्बिनी सास्कृतिक नगरपालिका र देवदह नगरपालिकाको हालै बसेको समन्वय बैठकले लुम्बिनी विकास कोष अन्तरर्गत रहेका विद्युतीय बसहरु बुद्ध सर्किट र आसपासका पालिकामा सञ्चालन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा अनुरोध गरेको छ।
साथै बस सञ्चालनका लागि आवश्यक सहयोग र समन्वयको लागि लुम्बिनी प्रदेशको उद्योग पर्यटन तथा यातायात मन्त्रालय र लुम्बिनी विकास कोषलाई समेत अनुरोध गर्ने निर्णय गरेको छ। यस विषयमा नेतृत्व रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवलाई गर्ने जिम्मेवारी दिइएको छ।
हालै रामग्राम नगरपालिकामा बुद्ध परिपथका नगरपालिकाको समन्वय बैठक बसेको थियो। बैठकले बुद्ध सर्किटका बुद्धस्थल तथा पालिकाहरुको पर्यटन प्रवद्र्धन गर्नको लागि संयुक्त रुपमा आवश्यक प्रचार सामाग्री तयार गर्ने निर्णय पनि गरेको छ।
बृहत लुम्बिनी क्षेत्र विकास आयोजना आन्तर्गत सञ्चालन हुने योजनाहरुको लागि पालिकाहरुलाई न्युन बजेट मात्र उपलब्ध गराइएको बजेट बढाउन वल्र्ड बैंकको नेपाल स्थित कन्ट्री अफिसमा आग्रह गर्ने निर्णय भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुल्सीराम पराजुलीले जानकारी दिए।
सो आयोजनाहरुको पहिचान सञ्चालनमा समन्वय र एकरुपता कायम गर्न तथा स्वामित्व विकास गरि आयोजना सञ्चालनमा दिगोपनाका सन्दर्भमा शहरी विकास तथा भवन निर्माण विभागमा भएको छलफल अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय तर्फ ३४ मिलियन र नगरपालिकाहरुको प्रत्येक स्थानिय तहलाई ३ मिलियन मात्रै छुट्याइएको थियो। सो बढाउन आग्रह गरिएको हो।
बैठकले बुद्धपरिपथका नगरप्रमुख लुम्बिनी विकास कोषको पदेन सदस्य हुने गरि कानूनी व्यवस्था गर्न आग्रह गरेका छन्। आगामी मे ९ र १० मा अष्ट्रेलियाको ग्रेटर बेन्डिगो सिटीमा हुने लुम्बिनी अन्तर्राष्ट्रिय महोत्सवमा सहभागीता हुने तथा शुभकामना सन्देश पठाउने निर्णय गरेको छ।

