२०८१ आश्विन २१ गते, सोमबार १३:१५
  • विदेशी पर्यटकको आगमन १३२ प्रतिसतले बढ्यो

    काठमाडौँ- सन् २०२३ को चार महिनामा विदेशी पर्यटक आगमन एक सय ३२ .६७ प्रतिशतले बढेको छ । सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म एक लाख ४० हजार तीन सय ३६ पर्यटक आएकामा यस वर्षको सोही अवधिमा तीन लाख २६ हजार पाँच सय २७ पर्यटक आएका छन् ।

    कोरोना महामारीपूर्व सन् २०१९ को समीक्षा अवधिमा चार लाख २० हजार चार सय ४६, सन् २०२० मा दुई लाख २० हजार छ सय ८२, सन् २०२१ मा ५५ हजार चार सय ४७ र सन् २०२२ मा एक लाख ४० हजार तीन सय ३६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

    पछिल्लो अप्रिल महिनामा मात्रै ९८ हजार सात सय ७३ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो मार्च महिनामा ९९ हजार चार सय २६, फेब्रुअरीमा ७३ हजार दुई सय ५५ र जनवरीमा ५५ हजार ७४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

    नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०१९ को तुलनामा ९० प्रतिशत पर्यटक बढेका छन् ।
    पर्यटक आगमनको प्रवृत्ति हेर्दा चिनियाँ पर्यटक उत्साहवर्द्धक रूपमा बढेको निर्देशक लामिछानेले उल्लेख गरे । फेब्रुअरीमा करिब एक हजार आठ सय चिनियाँ पर्यटक आएकामा मार्चमा ३० प्रतिशतले बढेर दुई हजार छ हजार पर्यटक आएका थिए भने अप्रिल महिनामा ८१ प्रतिशतले बढेर चार हजार सात सय ७० चिनियाँ पर्यटक नेपाल आएका छन् ।

    पर्यटक बढी आउने १० मुलुकमध्ये चीन चौथो नम्बरमा छ । पहिलो स्थानमा रहेको भारतबाट सबैभन्दा बढी ३१ हजार चार सय ३७ पर्यटक आएका छन् । अमेरिकाबाट आठ हजार चार सय १३, बेलायतबाट पाँच हजार चार सय नौ, अष्ट्रेलियाबाट तीन हजार आठ सय २८, जर्मनीबाट तीन हजार चार सय ४६, फ्रान्सबाट तीन हजार दुई सय ११, रसियाबाट दुई हजार छ सय ६७, बङ्गलादेशबाट दुई हजार दुई सय १७ र थाइल्याण्डबाट दुई हजार एक सय दुई पर्यटक नेपाल आएका छन् ।