
लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। गत जनवरीमा मुलुक भित्रैबाट लुम्बिनी घुम्न आउनेको संख्या १ लाख ५३ हजार ३८६ रहेको छ। यो अघिल्लो वर्ष सोही अवधिको तुलनामा २७ हजारले बढि हो।
सन २०२५ को जनवरी महिनामा १ लाख २६ हजार ४० जनाले लुम्बिनीको भ्रमण गरेका थिए। अहिले लुम्बिनीको आन्तरिक पर्यटक आगामन कोभिड अघिकै लयमा पुगेको देखिएको छ। सन् २०१९ को जनवरी महिनामा १ लाख १० हजार ३०० जना नेपाल भित्रबाटै लुम्बिनी घुम्न आएका थिए।
कोभिड पछिका केही वर्ष लुम्बिनीको आन्तरिक पर्यटक आगमन न्युन थियो। तर २०२६ को सुरुवातले केही आशा सञ्चार गरेको छ। लुम्बिनी विकास कोषका सुचना अधिकृत हरिध्वज राइले नेपालीहरुमा घुम्ने प्रचलन बढ्नु र राजमार्गको यात्रा पनि सहज भएकाले यो वर्ष आन्तरिक पर्यटक बढेको बताउँछन्। ‘नयाँ वर्ष आसपासमा घुम्ने प्रचलन बढिरहेको छ। शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरुको चहलपहल यो पटक राम्रो थियो।’ उनले भने ‘नारायणगढ बुटवल सडकको दाउन्ने बाहेकको ठाउँमा सहज हुँदा काठमाडौं र पूर्वबाट आउने पर्यटकहरु पनि बढेको छ।’ लुम्बिनीमा भइरहेका पूजा तथा धार्मिक गतिविधिले लुम्बिनी घुम्न आउनेहरु बढेको राइको भनाइ छ।
अहिले लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल भएपनि त्यसबाट व्यवसायमा खासै फाइदा नभएको होटल सञ्चालकहरु बताउँछन्। लुम्बिनी होटल संघका अध्यक्ष लिलामणी शर्माले दिउसोमा घुम्ने पर्यटकहरुको चहलपहल देखिएपनि राती बस्ने पाहुना कम भएको बताए। ‘हामीले पनि मायादेवी मन्दिर, शान्तिदीप परिसरमा भिडभाड देख्छौं। त्यसको ३०–४० प्रतिसत मात्र बसे पनि व्यवसायमा राम्रो हुन्थ्यो।’ उनले भने ‘डे भिजिटर दिनप्रतिदिन बढिरहेका छन्। तर यहाँका राती यहाँका होटलमा बस्ने पाहुना खासै छैनन्। किन यस्तो भइरहेको छ हामीले समिक्षा गर्नुपर्ने भएको छ।’ आगामी दिनमा पर्यटक भुलाउने र बसाइ अवधि लम्ब्याउने खालका कार्यक्रम ल्याउने शर्माले बताए।
बुद्ध जन्मस्थल लुम्बिनी आउने तेस्रो मुलुकको पर्यटक आगमन पनि केही बढेको छ। यो जनवरीमा ११ हजार ३८० विदेशी पर्यटक लुम्बिनी आएका छन्। यो अघिल्लो वर्ष सोही अवधिको तुलनामा २७ सयले बढि हो। २०२५ को जनवरीमा ८ हजार ६०५ विदेशी पर्यटक आएका थिए। कोभिड अघि भन्दा यो वर्षको सुरुवातमा २२ सय कम लुम्बिनी आएका छन्। सन २०१९ को जनवरीमा तेस्रो मुलुकबाट १३ हजार ६१९ पर्यटक लुम्बिनी आएका थिए।
अघिल्लो वर्षको तुलनामा यो जनवरीमा भारतीय पर्यटकको संख्या केही घटेको छ। गत महिना २१ ह्जार ४८८ भारतीय लुम्बिनी आएका थिए। २०२५ को जनवरीमा छिमेकी मुलुकबाट २५ हजार २५६ जना आएका थिए। कोभिड अघिको तुलनामा भने अहिले केही बढि हो। २०१९ को जनवरीमा १९ हजार १६८ भारतीय लुम्बिनी आएका थिए। आन्तरिक, भारतीय र तेस्रो मुलुकबाट गरेर गत जनवरीमा लुम्बिनी भ्रमण गर्नेको कुल संख्या १ लाख ८६ हजार २५४ रहेको छ।

