२०८२ फाल्गुन २३ गते, शनिबार ११:२१
  • प्रधानमन्त्री शुसीला कार्कीद्वारा लुम्बिनी भ्रमण

    लुम्बिनी — प्रधानमन्त्री शुसीला कार्कीले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन्। यहाँको विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री कार्की लुम्बिनी पुगेकी हुन्।

    प्रधानमन्त्रीलाई लुम्बिनी विकास कोषका सदस्य–सचिव दिपक श्रेष्ठले स्वागत गरेका थिए। भ्रमणका क्रममा उनले मायादेवी मन्दिरको दर्शन गरिन्। बुद्धको जन्मस्थलको ऐतिहासिक र धार्मिक महत्वबारे जानकारी लिँदै प्रधानमन्त्री कार्कीले संरक्षणका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताइन्। त्यसैगरी प्रधानमन्त्रीले थाइविहार लगायत लुम्बिनी क्षेत्रभित्रका विभिन्न अन्तर्राष्ट्रिय विहार तथा संरचनाहरूको पनि अवलोकन गरेकी थिइन्।

    लुम्बिनी केवल नेपालको मात्र नभई सम्पूर्ण विश्वकै साझा सम्पदा भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले यसको विकास गर्दा मौलिकता, शान्ति र धार्मिक सहिष्णुतालाई केन्द्रमा राख्नुपर्ने धारणा राखिन्। उनले लुम्बिनी विकास कोष, स्थानीय समुदाय र सरोकारवालाहरूबीच समन्वय गरेर दीर्घकालीन गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारिन्।

    लुम्बिनी विकास कोषका पदाधिकारीहरूले प्रधानमन्त्री समक्ष हालसम्म भएका विकास निर्माणका कार्य, भावी योजना तथा देखिएका चुनौतीहरूबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीले ती विषयमा चासो व्यक्त गर्दै आवश्यक नीतिगत तथा संरचनागत सहयोग सरकारबाट उपलब्ध गराइने बताएकी थिइन्। प्रधानमन्त्रीको भ्रमणले लुम्बिनी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्ने अपेक्षा गरिएको छ।