
काठमाडौं – बुद्धजन्मस्थल लुम्बिनीको पुरातात्विक महत्वको संरक्षण गर्दै आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्ने सरोकारवाला तथा विज्ञहरुले बताएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा मंगलबार लुम्बिनीको सम्पदा संरक्षण र विकास बारे छलफल भएको थियो।
विश्व सम्पदा स्थल लुम्बिनीमा पुरातत्वको संरक्षण र पूर्वाधार विकास बारे बेला बेलामा विवाद हुँदै आएको छ। यस बारेमा अब विवाद नआउने गरि काम गर्नुपर्ने कार्यक्रममा बताइएको थियो।
लुम्बिनीको एक स्क्वायर माइलको पवित्र उद्यान क्षेत्रमा रहेका पुरातात्वीक सम्पदाको कसरी संरक्षण गर्ने, धार्मिक गतिविधिको लागी कुन स्थानलाई तोक्ने, अत्यावश्यक पर्यटकीय पूर्वाधार कता व्यवस्थापन गर्ने भन्ने बारे योजना बनाउन छलफल भएको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रतीले जानकारी दिए।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री खडकराज पौडेल गनेसले लुम्बिनी भनेको भौतिक सांस्कृतिक सम्पदा मात्र नभई अभौतिक सम्पदा समेत रहेको बताए। भौतिक सम्पदालाई संरक्षण गर्ने सम्बन्धमा अभौतिक सम्पदाहरुलाई नजर अन्दाज गर्न नहुने उनको भनाइ छ। मन्त्री पौडेलले लुम्बिनीमा हुने धार्मिक कार्यलाई पनि उचित स्थान दिनुपर्ने भन्दै त्यस अनुसार वातावरण निर्माण गर्न आग्रह गरे। कार्यक्रममा मन्त्रालयका सचिव, पुरातत्व विभागका महानिर्देशक, राष्ट्रिय अभिलेखालयका महानिर्देशक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, लुम्बिनी विकास कोषका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागीता थियो। सहभागीहरुले लुम्बिनीमा रहेका पुरातात्विक संरचना, मूर्ति, शिलालेख र स्तूपहरूको संरक्षणसँगै त्यहाँको पवित्रता र ध्यानपूर्ण वातावरण कायम राख्दै पर्यटकीय पूर्वाधार विकास गर्नुपर्ने विचार व्यक्त गरेका थिए।

