२०८३ बैशाख १८ गते, शुक्रबार १९:१२
  • मायादेवी मन्दिर भित्रै सिमित भयो यस पटकको बुद्ध जयन्ती उत्सव

    लुम्बिनी-हरेक वर्ष बुद्ध जयन्तीमा लुम्बिनीमा भव्य कार्यक्रम हुन्थ्यो। मायादेवी मन्दिर परिषरबाट सुरु भएको शोभायात्रा शान्तिदिप हुँदै अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रमा पुग्थ्यो। सभाहलमा आयोजित समारोहमा प्रधानमन्त्री या राष्ट्रपति प्रमुख अथितीको रुपमा सहभागी हुन्थे। बुद्ध दर्शन र लुम्बिनीको बारेमा चर्चा परिचर्चा हुन्थ्यो। केही विदेशी पाहुना तथा विभिन्न देशका राजदुतहरु लुम्बिनीमा जम्मा हुन्थे।

    तर यो वर्ष २५७० औं बुद्ध जयन्तीको दिन त्यस्तो दृष्य देखिएन। बुद्धजयन्तीमा राष्ट्रपति र प्रधानमन्त्री दुबै जना देखिएनन्। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री खडक बस्नेत गनेस सहित यस क्षेत्रका केही सांसदहरु लुम्बिनी आएका थिए। मायादेवी मन्दिर भित्र पुजा र ध्यान भएको थियो। सभामुख लगायत विशिष्ठ व्यक्तीहरु ध्यान र प्रार्थनामा सहभागी भएका थिए। तर मन्दिर बाहिर बाहिर कुनै कार्यक्रम भएन। भित्र ध्यान र पूजा सकिएपनि सभामुख अर्यालले मायादेवी मन्दिर परिसर परिक्रममा गरेर निस्कीए।

    बुद्ध जयन्ती समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह आउने भनेर लुम्बिनी विकास कोषले तालिका सार्वजनिक गरेको थियो। विहान ५ बजे सुरु भएर सवा ६ बजे कार्यक्रम सकिने तालिकामा उल्लेख थियो। तर प्रधामन्त्रीको सम्बोधनको कार्यक्रम राखिएको थिएन। तर बुद्ध जयन्तीको २ दिन अघि मंगलबार प्रधानमन्त्री बुद्धजयन्तीमा नआउने भनेर जानकारी गराइएको थियो।

    यस पटकको बुद्ध जयन्तीको कार्यक्रम सभाहलमा नराखी मायादेवी मन्दिर परिसरमै गर्ने गरि व्यवस्थापन गरिएको थियो। तर बर्षाका कारण बाहिर कार्यक्रम हुन सकेन। तोकिएको समय भन्दा तीन घण्टा ढिला मायादेवी मन्दिर भित्र बुद्ध जयन्तीको कार्यक्रम भएको हो। मन्दिरभित्र सभामुख लगायत विशिष्ठ पाहुनाहरुथेराबाद, यहायान र बज्रयानको पुजा र ध्यानमा सहभागी भएका थिए।