२०८३ बैशाख ३० गते, बुधबार १७:०८
  • नीति तथा कार्यक्रममा बर्सेनी सुनिन्छ, भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुँदैन

    व्यवसायी भन्छन् : अब सरकारको कुरा विश्वास लाग्न छाड्यो

    भैरहवा-२०७९ साल जेठ २ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए। उद्घाटनको केही दिनपछि आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक भयो। सो नीति तथा कार्यक्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको भनिएको छ। त्यसबेला उद्घाटनसँगै कुवेतको जजिरा एयरवेजले भैरहवामा अन्तर्राष्ट्रिय उडान थालेको थियो। तर जजिराले उडानलाई नियमितता दिएको छैन।

    २०८०/८१ को नीति तथा कार्यक्रममा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई पूर्णरुपमा उपयोगमा ल्याइने भनिएको थियो। तर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा उपयोगमा आउनु त परको कुरा सो वर्ष जजिराले पनि उडान रोक्यो। अन्तर्राष्ट्रिय उडानका लागि कुनै नयाँ जहाज भैरहवा आएनन्। नेपाल बायुसेवा निगमले सातामा एक दिन मलेसिया–भैरहवा–काठमाडौं उडान सुरु गरेको थियो। भैरहवाको लागि यो एकतर्फी उडान केही महिना मात्र चल्यो।

    आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरिने उल्लेख छ। सो वर्ष भैरहवामा अन्तर्राष्ट्रिय विमानहरुलाई आकर्षित गर्न सरकारले ग्राउण्ड हेण्डलिङ, टिकटमा लाग्ने पर्यटन शुल्क, इन्धन लगायतमा सहुलियत दिएको थियो। २०८१ साल कात्र्तिकबाट जजिराले भैरहवामा पुन उडान सुरु गर्यो। फ्लाई दुबई र थाई एयर एशिया पनि अन्तर्राष्ट्रिय उडानको लागि भैरहवा आए। भैरहवामा अन्तर्राष्ट्रिय उडानको चहलपहल बढेको थियो। तर सोही वर्ष चैत्रदेखी ३ वटै उडान रोकिए।

    चालु आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे उल्लेख छैन। उड्यनको विषयमा हवाइ पूर्वाधार र सेवाप्रवाहमा नीजि क्षेत्रको सहभागीता बढाइने भनिएको छ। नेपाल बायुसेवा निगमको पुनसंरचना गरिने भनेर लेखिएको छ। यो वर्ष कात्र्तिकदेखी चैत्रसम्म थाइ एयर एसियाले मात्र भैरहवामा अन्तराष्ट्रिय उडान गर्यो। गत चैत्रपछि भैरहवाको विमानस्थल अन्तर्राष्ट्रिय उडान विहिन छ।

    सोमबार सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघिय संसदमा बाचन गरेको नीति कार्यक्रममा सरकारले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि कुटनैतिक पहल गरिने भनिएको छ। ‘गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय प्रदायकलाई आकर्षण गर्न कुटनैतिक पहल गरिने छ ।’ नीति तथा कार्यक्रममा उल्लेख छ।

    तर व्यवसायीहरुले भने नीति तथा कार्यक्रम र बजेटमा आएका कुराहरु विश्वास गर्न छाडिसकेका छन्। सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले विगतमा पनि सरकारको आसवासन सुनिरहेको तर भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताए। ‘हरेक वर्ष नीति तथा कार्यक्रममा यस्ता कुराहरु आइरहेका छन्। तर कार्यान्वयन हुन सकेको छैन। अहिलेको नीति तथा कार्यक्रम सुन्दा पनि आशा मात्र गर्ने हो।’ उनले भने ‘विश्वास नै गरिहाल्ने अवस्था छैन। कार्यान्वयन भएर भएर विमानस्थल चल्यो भने आर्थिक चलायमान र समग्र उद्योग व्यवसायीको उत्थान हुन्थ्यो ।’ अध्यक्ष आचार्यले नीति कार्यक्रममा कुटनीतिक पहल भने पनि नयाँ सरकारको भारतसँग सम्बन्ध विस्तार कसरी हुन्छ भन्ने कुरामा भर पर्ने उल्लेख गरे।

    सिद्धार्थ होटल एशोसिएन सानका अध्यक्ष सीपी श्रेष्ठले नीति कार्यक्रममा लेखेर मात्र भैरहवामा अन्तर्राष्ट्रिय उडान नहुने बताए। ‘सरकारले पहिले पनि हामीलाई आसवासन मात्र दिएको हो। नीति कार्यक्रममा लेख्दैमा अन्तर्राष्ट्रिय विमानस्थल चल्ने अवस्था छैन। विमान कम्पनीले यात्रु नपाइ चलाउँदैनन्।’ उनले भने ‘यात्रु आउने माहोल सिर्जना हुनुपर्छ। विदेश जानेको लागि स्वास्थ्य चेकजाँच, भिसा, श्रम लगायतका सुविधा भैरहवाबाट भयो भने यहाँ अन्तर्राष्ट्रिय उडानको वातावरण बन्छ।’ श्रेष्ठले अन्तर्राष्ट्रिय उडानको लागि लुम्बिनीमा आउने बुद्धिष्ट पर्यटकलाई लक्षित गरेर कार्यक्रम ल्याउनुपर्ने धारणा राखे।

    नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्टस् नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापाले नीति कार्यक्रम सुन्दैमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान होला भनेर विश्वास गर्ने आधार नभएको बताए। ‘नीति तथा कार्यक्रममा आएको सैद्धान्तिक कुराले आशा र उत्साहित हुने ठाउँ छैन। अन्तर्राष्ट्रिय उडानको लागि ठोस योजना र कार्यक्रम आउनुपर्यो ।’ उनले भने ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल गर्ने गरि योजना बन्यो भने भैरहवा एयरपोर्ट चल्न सक्छ।’ काठमाडौमा धेरै उडान गर्ने केही न्यारोबडी जहाजलाई यता भैरहवा पठाउनुपर्ने थापाको भनाइ छ। नेपाल एयरलाइन्सको जहाज थप्ने र कम्तीमा एउटा जहाजलाई भैरहवा बेस गरेर चलाउनुपर्ने नाट्टा लुम्बिनीका अध्यक्ष थापाको सुझाब छ।