२०८३ बैशाख ३१ गते, बिहीबार १४:०४
  • पर्यटन परिषदको कार्यालय दाङ सार्ने निर्णप्रति रुपन्देहीका व्यवसायीहरुको आपत्ती

    बुटवल– बुटवलमा रहेको पर्यटन विकास परिषदको कार्यालय दाङ सार्ने निर्णयप्रति रुपन्देहीका पर्यटन व्यवसयीहरुले आपत्ती जनाएका छन् । लुम्बिनी प्रदेश सरकारले उद्योग, पर्यटन तथा यातायात मन्त्रालय मातहतको परिषदको कार्यालय दाङको देउखुरीमा सार्ने निर्णय गरेको थियो । देउखुरी लुम्बिनी प्रदेशको राजधानी भएको ठाउँ हो। मन्त्रालयका नयाँ भवन बनेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले परिषदको कार्यालय पनि ल्याउने निर्णय गरेको थियो।

    तर रुपन्देहीमा क्रियाशिल पर्यटनसँग सम्बन्धित संघसंस्थाहरुले पर्यटन परिषदको कार्यालय बुटवलबाट सार्न नदिने बताएका छन्। उनीहरुले बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्ग हुँदै सबैभन्दा बढि पर्यटक भित्रिने नाका बेलहिया समेत रहेको हिसाबले रुपन्देही पर्यटकीय दृष्टीले महत्वपूर्ण जिल्ला रहेको भन्दै पर्यटन परिषदको कार्यालय बुटवलमै राख्नुपर्ने माग गरेका हुन्।

    उनीहरुले बुधबार दाङको देउखुरी स्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
    नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापा, सिद्धार्थ होटल संघ रुपन्देहीका अध्यक्ष चन्द्रप्रकास श्रेष्ठ, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठ, सोट्टो लुम्बिनीका अध्यक्ष सञ्जय बजिमय, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनाल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका महासचिव बालबहादुर घिमिरे र लुम्बिनी होटल संघका सचिव एकराज कंडेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा रुपन्देही औद्योगिक व्यवसायीक मात्र नभई पर्यटकीय दृष्टीले महत्वपूर्ण जिल्ला भएकाले परिषदको कार्यालय सार्ने निर्णयले दुखित तुल्याएको उल्लेख गरिएको छ।

    ‘समग्र लुम्बिनी प्रदेशको सम्भावित पर्यटकीय गन्तव्यहरुको पहिचान, प्रवद्र्धन र दिगो व्यवसायीकरणमा निजी क्षेत्रहरुसँग सौहार्दपूर्ण तवरले सहकार्य गर्दै आइरहेको पर्यटन विकास परिषदको भूमिका रुपन्देहीमा अत्यन्तै महत्वपूर्ण रहेको देखिन्छ ।’ ज्ञापनपत्रमा भनिएको छ ‘न्यायोचित कारण विना नै प्रमुख पर्यटकीय गन्तव्यस्थल रुपन्देहीबाट हठात् रुपमा सार्ने निर्णयले हामी सबैलाई अत्यन्तै दुखित तुल्याएको छ ।’
    लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनमा संघिय सरकारको समेत ध्यान जान नसकिरहेको अवस्थामा पर्यटकीय गतिविधिमा पर्यटन विकास परिषदले सक्रिय भूमिका खेल्दै आएको भन्दै व्यवसायीहरुले परिषद सार्ने निर्णयले लुम्बिनीको पर्यटन प्रभावित हुने बताए । रुपन्देहीमा नीजि क्षेत्रबाट समेत पूर्वाधारहरु बन्दै गइरहेको र बर्षेनी ५ तारे होटलको संख्या थपिदै गएकाले परिषदको कार्यालय बुटवलमा आवश्यक हुने सिद्धार्थ होटल संघका सानका अध्यक्ष सीपी श्रेष्ठले बताए।

    नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापाले परिषदको कार्यालय रुपन्देहीमै राख्न पर्यटनसँग सबै सरोकारवालाहरु एक हुनुपर्ने उल्लेख गरे । पर्यटन विकास परिषदको कार्यालय बुटवलको हिलपार्क नजिक सामुदायीक बनको भवनमा छ । भाडा तिर्न नपर्ने गरि चार वर्षदेखि त्यहाँ परिषदको कार्यालय रहेको छ।

    लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमले पर्यटन विकास परिषदको कार्यालय दाङ सारे पनि सम्पर्क कार्यालय बुटवलमै रहने जानकारी दिए । ‘कार्यालय यहाँ दाङमा सारेपनि सम्पर्क कार्यालय हामी त्यही राख्न सक्छौं । केही प्रदेश स्तरिय कार्यक्रम पनि त्यतै गर्छाै ।’ उनले भने ‘यहाँ मन्त्रालयको ठूलो भवन छ । विजुली बत्तीको आधारभूत विल धेरै नै उठ्छ । मन्त्रालयमा कर्मचारी पनि अभाव छ । थोरै कर्मचारी भएकाले मन्त्रालय र परिषद कार्यालय एकैठाउँमा हुँदा काम काजमा सहज पनि हुन्छ ।’

    अहिले पर्यटन विकास परिषदको कार्यकारी निर्देशक रिक्त छ । रामु जोशीले राजिनामा दिएपछि रिक्त भएको पदको जिम्मेवारीको लागि मन्त्रालयकै मान्छेलाई खटाउनुपर्ने बुटवल दाङ ओहोरदोहोर गर्न नपर्ने सचिव गौतमले बताए ।
    विगतमा बुटवल लुम्बिनी प्रदेशको अस्थायी राजधानी रहेको थियो । प्रदेश सभाले २०७७ साल असोजमा प्रदेशको राजधानी दाङको देउखुरीमा राख्ने प्रस्ताव पारित गरेको थियो । २०७९ संसदीय चुनावपछि मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरु दाङबाटै सञ्चालित भएपनि पर्यटन परिषद लगायतका केही कार्यालय बुटवलमा रहँदै आएका थिए ।