
सुर्खेत-सुर्खेतको विरेन्द्रनगरमा कर्णाली पर्यटन सम्मेलन सुरु भएको छ। ‘संस्कृति र प्रकृतिको काखमा’ भन्ने नारासहित सुरु भएको नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा होटल व्यवसायी महासंघ सुर्खेत, दुल्लु नगरपालिका, गुराँस गाउँपालिकाको समन्वयमा ‘कर्णाली टुरिजम मिट–२०२६’ सुरु भएको हो। वीरेन्द्रनगरमा सुरु भएको सम्मेलनमा कर्णालीको पर्यटन सम्भावना, सांस्कृतिक वैभव र दिगो पर्यटन विकासबारे बहस गरिएको छ । सम्मेलनले कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने नयाँ आशा जगाएको छ।
पर्यटन सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका पर्यटनमन्त्री सुरेश अधिकारीले कर्णालीलाई विगतदेखि नै भौगोलिक विकटताको रूपमा हेरिएको भए पनि अहिले अथाह पर्यटकीय सम्भावना बोकेको भूमिको रूपमा परिचित भइरहेको उल्लेख गरे। “कर्णाली घुम्ने मात्र होइन, अनुभूति गर्ने भूमि हो,” उनले भने, “यहाँको संस्कृति, प्रकृति र समुदाय नै यसको वास्तविक शक्ति हो।”
त्यसैगरी पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले कर्णाली नेपालको पश्चिम भूगोलको एउटा प्रदेश मात्र नभई नेपाली सभ्यता, हिमाली संस्कृति, जैविक विविधता र मौलिक जीवनशैलीको जीवन्त संग्रहालय भएको बताए। सुर्खेत अब केवल ट्रान्जिट नभई कर्णाली पर्यटनको रणनीतिक केन्द्रका रूपमा विकास भइरहेको उनले उल्लेख गरे।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले भारत नेपालको लागि विशाल पर्यटन बजार रहेको उल्लेख गर्दै कर्णाली प्रदेश अहिले भारतीय पर्यटकका लागि अत्यन्त उपयुक्त गन्तव्य भएको बताए। उनले सीमा जोडिएको प्रदेश नभए पनि सीमाबाट तीन घण्टाको दूरीमा कर्णाली पुग्न सकिने भएकोले भारतीय पर्यटक आकर्षित गर्न सेवा र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले कर्णालीमा अथाह पर्यटन सम्भावना भए पनि यसको प्रभावकारी प्रचारप्रसार हुन नसकेको बताइन्। सुर्खेत कैलाश मानसरोवर यात्राको प्रवेशद्वार समेत भएको उल्लेख गर्दै पर्यटन विकासका लागि सुर्खेतको रणनीतिक महत्त्व बढ्दो रहेको उनको भनाई थियो।
दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले स्थानीय तहले पर्यटनलाई उद्योगका रूपमा स्वीकार गर्दै समुदायस्तरमा पर्यटनबारे जनचेतना विस्तार गरिरहेको बताए । पर्यटन व्यवसायी श्रीराम सिग्देलले “कर्णाली पर्यटनको गेटवे सुर्खेत” भएको उल्लेख गर्दै सुर्खेतलाई पर्यटन हबका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए। भारतीय पर्यटन व्यवसायीहरूको संस्था ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इण्डियाका अध्यक्ष राजेश सिन्हाले कर्णाली आफ्नो लागि नयाँ पर्यटन गन्तव्य बनेको बताए।
ऐतिहासिक कर्णाली पर्यटन सम्मेलन २०८३’ को पहिलो दिनका कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन्। शनिबार वीरेन्द्रनगरस्थित शुभ होटलमा आयोजित एक विशेष समारोहका बीच सम्मेलनको विधिवत् उद्घाटन गरिएको थियो। उद्घाटन सत्रपश्चात् कर्णालीको पर्यटन विकास र भावी रणनीतिबारे पर्यटन विज्ञहरूबीच गहन ’प्यानल छलफल’ तथा नेपाल–भारतका पर्यटन व्यवसायीहरूबीच व्यावसायिक साझेदारी बढाउन ’बीटूबी सेसन’ सञ्चालन गरियो।
त्यस्तै, सम्मेलनको पहिलो दिनको समापन साँझ वीरेन्द्रनगर–१४ मा अवस्थित ’स्टे भ्याली भ्यु होटल’ मा कर्णालीको रैथाने कला–संस्कृति झल्किने विविध सांस्कृतिक प्रस्तुति र ’गला डिनर’ (न्बबि म्ष्ललभच) का साथ उत्साहजनक रूपमा भएको छ। भारतबाट आएका पर्यटन व्यवसायी र सञ्चारकर्मीहरूको टोलीसहित स्थानीय सरोकारवालाहरूको ठुलो उपस्थिति रहेको यो सम्मेलन जेठ १० गतेसम्म चल्नेछ।

