२०८३ कार्तिक ७ गते, शुक्रबार १६:२३
  • मुस्ताङ सीएनएनले जारी गरेको उत्कृष्ट गन्तव्यको सूचीमा

    काठमाडौँ -अमेरिकी समाचार संस्था सीएनएनले जारी गरेको उत्कृष्ट गन्तव्यको सूचीमा नेपालको मुस्ताङ पनि परेको छ। मुस्ताङ उपत्यकालाई सन् २०२३ मा घुम्नैपर्ने स्थानको रुपमा सिएनएनले उल्लेख गरेको हो ।

    हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुराना ट्रेलहरूमध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सीएनएनले हिमाली पदयात्राका लागि प्रसिद्ध स्थानको रूपमा समावेश गरेको छ । मुस्ताङमा पदयात्राका सार्थ पर्यटकले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन्। यहाँ मानव निर्मित गुफाहरू रहेका छन्, जहाँ २ हजार वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देख्न पाइनेछ ।

    मुस्ताङ उपत्यका पुग्नु आफैंमा साहसिक कार्यको एक हिस्सा भएको सीएनएनले उल्लेख गरेको छ । राजधानी काठमाडौंबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेट जोमसोमको यात्रा गर्नुपर्नेछ। काठमाडौंबाट स्थलमार्ग हुँदै पनि मुस्ताङ जान सकिन्छ।म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाईमार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या बढी छ।

    यहाँको मनोरम प्राकृतिक भूबनोट, हिमाली जनजीवन, मुस्ताङी सभ्यता र संस्कृतिले पर्यटकलाई लोभ्याउँछ। बर्सेनि पर्यटक बढेपछि मुक्तिनाथ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम पनि बढ्दो छ। मुक्तिनाथ क्षेत्रमा रहेका होटलमा अधिकांश विदेशी पर्यटककले रात बिताउने गर्छन्।

    सीएनएनको उत्कृष्ट गन्तव्य सूचीमा पोल्याण्ड, पश्चिम अष्ट्रेलिया, बेलायत, लिथुआनिया, फिजी, ब्राजिल, ग्रिस, रुवान्डा, स्वीडेन, युएइ, लाओस, स्वीट्जरल्यान्ड, कोलम्बिया लगायत पनि छन्।