२०८३ जेष्ठ २४ गते, आईतवार ०१:२६
  • गर्मीमा पनि लुम्बिनीमा भारतीय पर्यटकको चलहपहल, विदेशी घटे

    बुटवल- गर्मी याममा बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो मुलुकका विदेशी र आन्तरिक पर्यटकको आगमन घटेको छ। तर भारतीय पर्यटकहरुको चहलपहल राम्रो छ। मे महिनामा मात्र ४२ हजार ३९२ भारतीय पर्यटक लुम्बिनी आएका छन्। विगतका वर्ष भन्दा यो वर्ष गर्मी याममा भारतीय पर्यटक बढेका छन्।

    एक वर्ष अघि २०२५ को मे महिनामा ३० हजार ५६९ भारतीयले बुद्ध जन्मस्थलको भ्रमण गरेका थिए। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्ष मे महिनामा १२ हजार बढि भारतीय पर्यटक लुम्बिनी आएका छन्। २०२४ मा ३८ हजार ९०६ जना लुम्बिनी आएका थिए। कोभिड अघि सन २०१९ को मे महिनामा २३ हजार ३७७ भारतीय पर्यटक आएका थिए। गत मे महिनाको पहिलो दिन ६ हजार २५० जना भारतीय लुम्बिनी आएका थिए। त्यसदिन बुद्ध जयन्ती परेको थियो। महिनाको अन्तिम साता दैनिक १२ सयदेखी १५ सय भारतीय पर्यटक आइरहेका थिए।

    लुम्बिनी होटल संघका पूर्व अध्यक्ष मिथुनमान श्रेष्ठले नेपाली र तेस्रो मुलुकका पर्यटक नआएपनि भारतीय पर्यटकहरुको चहलपहल राम्रो रहेको बताए। ‘साता दिन अघि भारतीयहरुको राम्रै फ्लो थियो। ‘यो बेला उनीहरुको मुख्य रोजाइ लुम्बिनी त होइन। पोखरा, मुक्तीनाथ जानेहरु मध्ये केही भारतीय पर्यटकहरु बाटो पर्ने भएर केही आउँदा चहलपहल बढेको हो।’ उनले भने ‘अहिले पनि भारतीयहरु अलिअलि आइरहेका छन्। अरु विदेशी पर्यटक न्युन नै छ। आन्तरिक पर्यटकहरु पनि अहिले खासै आएका छैनन्।’ चार वर्ष अघिको बुद्ध जयन्तीमा नरेन्द्र मोदी लुम्बिनी आएदेखी भारतीय पर्यटकको आगमन ह्वात्तै बढेको हो।

    भारत बाहेक तेस्रो मुलुकबाट गत मे महिनामा २ हजार ६ सय पर्यटक मात्र लुम्बिनीमा आएका छन्। यस अघि अप्रिल महिनामा ६ हजार ५ सय ३९ जना र मार्चमा २३ हजार ५७९ तेस्रो मुलुकका पर्यटक आएका थिए। लुम्बिनीमा नेपाली, भारतीय र तेस्रो मुलुकका गरि पर्यटक आगमनको ३ वटा तथ्यांक राख्ने गरिएको छ।

    अघिल्लो वर्ष मे महिनाको तुलनामा गत महिना १८ सय कम विदेशी पर्यटक लुम्बिनी आएका छन्। २०२५ को मे महिनामा २ हजार ७९० तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए।। कोभिड अघिको वर्ष सन २०१९ को मे महिनामा ३ हजार २२८ जना तेस्रो मुलुकका पर्यटक आएको लुम्बिनी विकास कोषले जनाएको छ।

    यस्तै मे महिनामा नेपाल भित्रबाटै लुम्बिनी घुम्न आउनेको संख्या ९० हजार १०५ रहेको छ। जसमध्ये आधा अर्थात ४६ हजार ६७० जना मे १ को बुद्ध जयन्तीका दिन आएका थिए। अघिल्लो वर्ष २०२५ को मे महिनामा ९२ हजार ९८ जना आन्तरिक पर्यटक लुम्बिनी आएका थिए। कोभिड अघि सन् २०१९ को मे महिनामा १ लाख ५४ हजार ७०७ जना आन्तरिक पर्यटक आएका थिए।