२०८३ जेष्ठ २७ गते, बुधबार ०३:११
  • तीन वर्षमा ५ लाख बढी पर्यटकले केबलकारको यात्रा गरे

    बुटवल -लुम्बिनी केबलकार बुटवलमा तीन वर्षमा पांच लाख बढी पर्यटक भित्रिएका छन् । रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुर डाँडालाई जोड्ने लुम्बिनी केबलकार २०८० जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो। औपचारिक उद्घाटन भने २०८० जेठ २५ गते भएको थियो।

    सञ्चालनको तीन वर्षमा ५ लाख बढी पर्यटकले केबलकारको यात्रा गरेका र ती मध्ये झण्डै आधा संख्या भारतीय पर्यटक रहेको केबलकारले जनाएको छ । तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले लगानीकर्ता, सञ्चालक, कर्मचारी र सरोकारवाला सबै पक्षको साथ र सहयोगले पर्यटक आगमन संख्या क्रमिकरुपमा बढ्दै गएको तर सञ्चालन खर्च धान्न भारतीय र नेपाली गरी बाह्रै महिना दैनिक कम्तीमा ९ सय जना आगन्तुकले टिकट काटेर यात्रा गर्ने अवस्थामा पु¥याउन थप मेहनत गर्नुपर्ने बताए।

    डेढ अर्ब बढी लगानीमा सञ्चालनमा आएको केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा एक हजार जना क्षमताको बैंक्वेट हल सहित साढे तीन अर्ब लगानीमा पांचतारे होटेल निर्माणको प्रकृया अघि बढेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए । विशेषगरी भारत उत्तर प्रदेशका पर्यटकलाई लक्षित गरी पांच तारे होटल निर्माण गर्ने तयारीमा रहेको सैंजूले बताए।हालको पर्यटक आगमन संख्याले सञ्चालन खर्च धान्न नसकेको उनले बताए । सञ्चालन खर्च धान्न कम्तीमा पनि बाह्रै महिना दैनिक ५ सय भारतीय पर्यटकको आगमन बढाउन तीन वर्ष भित्र पांचतारे होटेलको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सैंजूले बताए।

    स्थानीय व्यवसायी र आईएमई समूहको लगानीमा निर्माण भएको लुम्बिनी केबलकार बुटवलको बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म करिब ३ किलोमिटर दूरीको छ। यो नेपालको दोस्रो लामो र लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । केबलकार निर्माणपछि सुनसान रहने पाल्पाको तिनाउ गाउँपालिका ३ को बसन्तपुर डाँडो अहिले प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बनेको छ।

    स्थानीय लक्ष्मण गौतम, तेजप्रसाद विक, ऋषि भण्डारी लगायतले २६ वर्ष अघि बुटवलबाट बसन्तपुर डाँडो जोड्ने केबलकार परिकल्पना गरेर निर्माणको पहल थालेका थिए। ६ वर्षअघि चन्द्रप्रसाद ढकाल समूहको आईएमई ग्रुप उक्त केबलकार निर्माणको नेतृत्व लिन तयार भएपछि २ वर्षमै केबलकार सञ्चालनमा आएको थियो।

    केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा मन्दिरलाई पुननिर्माण गरिएको छ । यी दुई मन्दिर हिन्दू धर्मावलम्बीका लागि विशेष आकर्षण बनेका छन् । कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास पछ्याउँदै नेपाल र भारतका विभिन्न शहरबाट उल्लेख्य संख्यामा भक्तजनहरू आउने गरेका मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउँछन् ।

    माथिल्लो स्टेशनमा जीप लाइन, स्काई साइक्लिङ, बाल उद्यान, रेष्टुराँ, आधुनिक पिङ लगायत पूर्वाधार बनेका छन् । बसन्तपुरबाट बुटवल, तिलोत्तमा हुँदै भैरहवासम्मको दृश्यका साथै मौसम सफा हुँदा हिम श्रृंखला समेत देख्न सकिन्छ । लुम्बिनी केबलकारमा झण्डै सय जनाले रोजगारी पाएकोमा अधिकांश स्थानीय छन् ।

    समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको बसन्तपुरमा तराईमा भन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुन्छ ।
    पर्यटकीयसँगै धार्मिक गन्तव्य, उपयुक्त मौसम र प्रदूषणमुक्त हावापानीका कारण बसन्तपुर भारतको उत्तर प्रदेश लगायतका पर्यटकको पनि रोजाइको गन्तव्य बनेको लुम्बिनी केबलकारका प्रबन्धक प्रज्ज्वल घिमिरेले बताए । केबलकारले प्रति टिकटको २ प्रतिशत रकम तिनाउ गाउँपालिका र बुटवल उपमहानगरपालिकालाई एक–एक प्रतिशतका दरले दिने गरेको छ ।

    अष्ट्रियाको डुपलमायर कम्पनीले बनाएको लुम्बिनी केबलकारमा २५ गोन्डला छन् । केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ । केबलकारले बुटवल वडा नं ३ र पाल्पाको तिनाउ गाउंपालिका ३ का स्थायी बासिन्दालाई टिकट दरमा ५० प्रतिशत छुट दिएको छ । यस्तै आम सर्वसाधारणलाई जन्म दिनमा निशुल्क यात्राको सुविधा दिएको छ । बुद्ध जन्मस्थल आउने पर्यटकलाई भित्राउन केबलकारले लुम्बिनी विकास कोषसंग सम्झौता समेत गरेको छ ।