२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • उद्घाटनको एक वर्ष पुरा, तर सुनसान भैरहवाको अन्तराष्ट्रिय विमानस्थल

    १७९ उडान र १८० अवतरण


    भैरहवा – गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन भएको मंगलबार ठीक एक वर्ष पुगेको छ । २०७९ जेठ २ गते तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाले कुबेतबाट आएको जजिरा एयरवेजलाई स्वागत गर्दै अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए ।
    तर आज यो अन्तराष्ट्रिय विमानस्थल सुनसान छ । पछिल्लो एक महिनादेखी जजिराले पनि उडान गरेको छैन । उसले अब कहिले उडान गर्छ टुंगो छैन । ‘जजिराले अहिले उडान रोकेको छ, कमर्शियल रिजन भनेर, कहिले गर्छ भनेर सुचना गरेको छैन अहिले स्थगत मात्र गरेको भनेको छ ।’ गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका सुचना अधिकारी दिपक बज्रचार्यले भने।

    यस अघि पुसदेखि फागुन महिनासम्म जजिराले उडान रोकेको थियो । एक वर्षमा अरु अन्तराष्ट्रिय उडान पनि थपिएनन्। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले समेत भैरहवाबाट उडान थालेको छैन । अब भने यही जेठबाट नेपाल एयरलाइन्सले भैरहवाबाट उडान गर्ने तयारी गरेको छ।

    हप्ताको एक एक पटक दिल्ली र मलेसिया उडान गर्ने उसको योजना छ ।अहिले ति देशमा उडान अनुमतीको प्रक्रियामा रहेको बताइएको छ। मे २९ तारिख देखी नेपाल एयरलाईन्सले भैरहवाबाट उडान थाल्ने सूचना आएको गौतमबुद्ध विमानस्थलका प्रवक्ता दिपक बज्रचार्यले बताए।

    भैरहवाबाट एक वर्षको अवधिमा कुल ३५९ अन्तराष्ट्रिय उडान र अवतरण भएको छ। जस मध्ये १७९ उडान र १८० वटा अवतरण रहेको छ । यस मध्ये चार्टर तफै उडान १९ वटा र अवतरण २० वटा भएको बज्रचार्यको भनाइ छ।
    अन्तराष्ट्रिय उडान मार्फत १४ हजार ७३९ यात्रु भित्रिएका छन्। २० हजार १३८ यात्रु बाहिरिएका छन्। १ हजार ३५६ टन कार्गो निर्यात भएको छ ।

    २०७१ साल माघमा तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि लुम्बिनीमा पर्यटकको आगमन बढ्ने र यो क्षेत्रमा आर्थिक विकास हुने व्यवसायीहरुले आशा गरेका थिए।

    शिलान्यासको साढे ७ वर्षमा निर्माण सम्पन्न भएर उद्घाटन पनि भयो। तर पूर्णरुपमा सूचारु हुन नसक्दा पर्यटन व्यवसायीहरु निराश छन्। गत बुद्धजयन्तीका दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी आउँदा यहाँका व्यवसायीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न माग गरेका थिए।

    काठमाडौँबाट हुने २५ प्रतिशत अन्तर्राष्ट्रिय उडान भैरहवा ल्याउन र भारत भ्रमणको उडान गौतमबुद्ध विमानस्थलबाटै गर्न उनीहरुको माग थियो।