२०८३ भाद्र १९ गते, शुक्रबार ११:५३
  • कोषले भन्यो: लुम्बिनीमा विपतको असर छैन, भ्रमणको लागि सुरक्षित र खुला छ

    लुम्बिनी-लुम्बिनी विकास कोषले भगवान गौतम बुद्धको जन्मस्थल भ्रमणका लागि पूर्ण रूपमा सुरक्षित र खुला रहेको जनाएको छ । कोषले एक सूचना जारी गर्दै बाढि र विपतले लुम्बिनी क्षेत्रमा कुनै असर नपारेको उल्लेख गरेको छ।

    कोषका निमित्त प्रशासकिय प्रमुख तथा बरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीद्वारा जारी सूचनामा तीर्थयात्री, पर्यटक, आगन्तुक तथा ट्राभल पार्टनरहरूलाई ढुक्क भएर लुम्बिनी र अन्य बुद्धस्थलहरुको भ्रमण गर्न आश्वास्त पारिएको छ। ‘हालैको बाढीले बृहत्तर लुम्बिनी क्षेत्रमा कुनै असर पु¥याएको छैन। लुम्बिनी, कपिलवस्तु, देवदह, रामग्राम तथा अन्य प्रमुख पर्यटकीय गन्तव्यहरू सुरक्षित र आगन्तुकहरूका लागि सहज रूपमा पहुँचयोग्य रहेका छन्।’ सूचनामा उल्लेख छ।

    अहिलेको रसुवाको बाढिको कारण सम्पूर्ण नेपालनै त्रासपूर्ण वातावरण छ भन्ने खालको नकारात्मक सन्देश प्रवाह भएको छ। त्यसैले लुम्बिनीमा त्यस्तो खालको समस्या छैन भनेर अन्तर्राष्ट्रिय समूदायमा आँफूहरुले सन्देश प्रवाह गरेको उप्रेतीले बताए।

    त्यस्तै, समग्र नेपाल नै अहिले भ्रमणका लागि सुरक्षित रहेको पनि कोषले जनाएको छ। प्रमुख पर्यटकीय गन्तव्य, सांस्कृतिक सम्पदा स्थल, तीर्थस्थल र पर्यटन सेवाहरु सामान्य रूपमा सञ्चालनमा रहेको र आवश्यक ठाउँमा स्थानीय यात्रा अपडेट र मार्गदर्शन पालना गर्दै पर्यटकहरूले आफ्नो यात्रा र तीर्थयात्रा योजना आत्मविश्वासका साथ जारी राख्न सक्ने सूचनामा उल्लेख छ।

    बुद्धको पवित्र जन्मस्थल तथा शान्ति, करुणा र सद्भावको शाश्वत प्रतीक लुम्बिनीमा तीर्थयात्री तथा आगन्तुकहरूलाई हार्दिक स्वागत गर्ने सूचना मार्फत बरिष्ठ अधिकृत उप्रेतीले बताए।