२०८१ आश्विन २१ गते, सोमबार १३:१३
  • मनास्लु र अन्नपूर्णलाई जोड्ने नयाँ पदमार्ग निर्माण गरिने

    लमजुङ– गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ। गोरखा र लमजुङका चार स्थानीय तह र पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टान बीच नयाँ पदमार्ग निर्माण गर्ने समझदारी भएको हो।

    लमजुङको दोर्दी गाउँपालिकामा बुधबार भएको छलफलमा गोरखाको अजिरकोट गाउँपालिका र लमजुङका दूधपोखरी, दोर्दी र मस्र्याङ्दी गाउँपालिकालाई जोड्ने गरी ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ निर्माण गर्ने सम्झौता भएको टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए।

    सम्झौतापत्रमा टानका अध्यक्ष नीलहरि बाँस्तोला, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। नयाँ पदमार्गभित्र अजिरकोट, नागेपोखरी, दूधपोखरी, लिपे लेक, मेमे पोखरी, बराहपोखरी, ठूलागीताललगायत प्राकृतिक तथा सांस्कृतिक क्षेत्र पर्दछन्।

    सम्झौताअनुसार उक्त पदमार्ग निर्माणका लागि प्रत्येक स्थानीय तहले आवश्यक वजेट विनियोजन गर्ने र त्यसको प्राविधिक तथा प्रवद्र्धनात्मक संयोजन टान गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको टानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र सेढाईले जानकारी दिए।

    सम्झौतासँगै अब नयाँ पदमार्गको खोजी गरी प्रोफाइल तयार गर्ने, पदमार्ग विकासका लागि योजना तयार गर्ने, योजना तथा डिपिआर तयार गर्ने, नयाँ पदमार्गको प्रवद्र्धनका लागि ब्रोसियर, वृत्तचित्र र पर्यटन पदयात्रा नक्सा तयार गरी शुभारम्भ गरिनेछ । विगत ४५ वर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा काम गर्दै आएको टानले यसअघि धादिङको रुविभ्याली तथा गोरखाका चुमभ्यालीको समेत नयाँ पदमार्ग खोजेर पर्यटन प्रवद्र्धन गरिसकेको छ।

    कार्यक्रममा दोर्दी गाउँपालिकाका अध्यक्ष अधिकारीले टानसँगको समन्वयनमा लमजुङ तथा गोरखाका उत्तरी गाउँपालिकासँग सहकार्य गरेर तत्काल काम सुरु गर्ने बताए।

    अजिरकोट गाउँपालिकाका प्रमुख देवकोटाले अजिरकोटको भच्चेक बजारलाई नयाँ पदमार्गको प्रवेशद्वार तथा हिल स्टेशनका रुपमा विकास गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए।