पर्यटन दिवसको अवसरमा बेलहिया नाकामा पर्यटकको स्वागत

भैरहवा– विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीको बेलहिया नाकामा पर्यटकहरुको स्वागत गरिएको छ। पर्यटन परिषद लुम्बिनीले आयोजना गरेको कार्यक्रममा स्थलमार्ग हुँदै आएका भारतीय पर्यटक कार्तिक शर्मा र सन्दीप सिंहलाई स्वागत गरिएको थियो। त्यस्तै श्रीलंकन पर्यटक रत्न श्री र चन्द्रकुमारीलाई पनि स्वागतसहित सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागीहरुले बुद्ध जन्मस्थल लुम्बिनी र प्रदेशको पर्यटन प्रवद्र्धनका सम्बन्धमा प्रदेश सरकार र नीजि क्षेत्रको साझा धारणा बन्नुपर्नेमा जोड दिएका थिए। उनीहरुले नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वमा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए। मुलुकले भोगेको ठूलो विपतको असर केही भागमा परेपनि समग्र सुरक्षित रहेको सन्देश दिनुपर्ने धारणा राखे।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा पर्यटन मन्त्री तुल्सीप्रसाद चौधरीले लुम्बिनीको पर्यटकीय विकास र प्रवद्र्धनमा नीजि क्षेत्र र प्रदेश सरकारको साझा धारणा आवश्यक भएको बताए। ‘कतै हामी एक आपसमा बाडिएका त छैनौ। एउटा संस्था जान्छ मन्त्रीसँग एउटा कुरा गर्छ। अर्को जान्छ मन्त्रीसँग अर्को कुरा गर्छ। साझा कुरा के हो भन्ने अवस्था छ।’ उनले भने ‘हामी संघ संस्थाको आ–आफ्नो नीति र विचार होला तर लुम्बिनी प्रदेशको पर्यटनको सन्दर्भमा अलग विचार हुनहुँदैन। हामीले साझा रुपमा यहाँको पर्यटकलाई अघि बढाउन चाहान्छौं।’
मन्त्री चौधरीले लुम्बिनी आएका पर्यटक लुम्बिनी प्रदेशका अन्य गन्तव्यमा पनि पुर्याउनुपर्ने उल्लेख गरे। पर्यटक क्षेत्रमा व्यवस्थीत रुपमा गाइडको उपलब्धता हुन नसकेको भन्दै उनले त्यसमा प्रदेश सरकारले ध्यान दिइरहेको बताए।
सिद्धार्थ नगर नगरपालिकाका मेयर इस्तीयाक अहमद खाँले भारतबाट आएका पर्यटकहरुले दुख पाउने अवस्था आउन नहुने बताए। उनले प्रदेशका गन्तव्यहरुमा पर्यटकीय वातावरण निर्माण गर्नुपर्ने धारणा राखे। पर्यटन विकास परिषद लुम्बिनीकी निमित्त कार्यकारी निर्देशक सारदा बस्यालले दिवसको नारा अनुसार अब पर्यटनलाई डिजिटलसँग जोड्नुपर्ने बताइन्। उनले अब पर्यटन भन्ने कुरा व्यवसायीको मात्र नभई हरेक नागरिकले प्रवद्र्धन र विकासमा भूमिका खेल्न सक्ने उल्लेख गरिन्।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि व्यवसायीहरु एकिकृत हुनुपर्ने धारणा राखे। उनले पर्यटकको आथित्यतामा हरेक नागरिकको भूमिका हुने बताए। होटल एशोसिएन नेपाल हान लुम्बिनी प्रदेशका अध्यक्ष सीपी श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि नियमित सञ्चालनको लागि आँफूहरुले निरन्तर पहल गरिरहेको बताए। उनले पर्यटन दिवसको अवसरमा होटलमा विशेष छुटको व्यवस्था गरेको जानकारी दिए।
नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि सबै चिन्तीत हुनुपर्ने उल्लेख गरे। होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव नेपालले नेपाल घुम्नको दिन सुरक्षित भएको सन्देश विश्वमाझ दिनुपर्ने उल्लेख बताए। यस वर्ष ‘डिजिटल एजेन्डा र आर्टिफिसियल इन्टेलिजेन्समार्फत् पर्यटनको पुनःपरिकल्पना’ नारासहति आइतबार विश्वभर यो दिवस मनाइएको हो। पर्यटन विकास परिषद लुम्बिनीका अधिकृत जनकराज खनालले मुलुकमा परेको विपतका कारण यो वर्ष संक्षिप्त कार्यक्रम गरिएको जानकारी दिए।

