२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • बुटवलमा राष्ट्रिय पार्क सम्मेलन सुरू


    बुटवल– पर्यटन प्रवद्र्धन र समृद्धिका लागि बुटवलमा दुई दिने पहिलो राष्ट्रिय पार्क सम्मेलन सुरू भएको छ । मणिमुकुन्द सेन उद्यान (फुलबारी) मा सुरू सम्मेलनमा देशभरका करिब १५० पार्कका ३ सय जना प्रतिनिधिहरु सहभागी छन् ।

    २ दिने पार्क सम्मेलनको उद्घाटन गदै पूर्वउपप्रधानमन्त्री तथा रुपन्देही २ का सांसद विष्णु पौडेलले उद्घाटन गर्दै पौडेलले मुलुकको आर्थिक अवस्था संकटतर्फ धकेलिदै गइरहेकोले यसको निकासमा सरकारले ध्यान दिन नसकेको बताए ।
    पौडेलले भ्रष्टचार अन्त्य गरी सुशासन कायम गर्न सबै एकताबद्ध हुनुपर्ने उल्लेख गरे । गुरुयोजना बनाएर हरेक शहरमा एउटा पार्क निर्माण आवश्यक बनाउनुपर्ने भन्दै पौडेलले आवश्यक बजेट ल्याउनको लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

    सम्मेलनमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटन, रोजगारी र सांस्कृतिक तथा पर्यावरण संरक्षणमा पार्कहरुको महत्वपूर्ण योगदान रहेको बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज बुटवलमा थप पार्कहरु निर्माण गर्ने सोचका साथ आफू अगाडि बढेको उल्लेख गरे । पाण्डेले पार्कको विकास र सम्बद्धर्नमा नगरपालिकाको सधै साथ र सहयोग रहने बताए ।

    सम्मेलनले पार्कहरुले भोग्नुपरेका कानुनी जटिलता र नीतिगत समस्या पहिचान र समाधानमा साझा पहल गर्ने मणिमुकुन्द सेन उद्यानका अध्यक्ष खेम लुइटेलले जानकारी दिए ।हालसम्म नेपालमा पार्कसम्बन्धी कुनै कानुन, नियमावली नहुँदा जुनुसुकै क्षेत्रबाट सञ्चालित पार्कहरुको विकास र संरक्षणमा समस्या देखिएकाले नीतिगत तहमा समाधान खोजिने उनले बताए ।

    करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष बेलप्रसाद शर्माले पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र ठाउँको सौन्दर्यताका लागि पार्कहरुको ठूलो भूमिका रहेको बताए।

    कार्यक्रममा लुम्बिनीका पूर्व मुख्यमन्त्री लिला गिरी, प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजू लगायतले आ आफ्ना भनाइ राखेका थिए । सम्मेलनले पार्कहरुको राष्ट्रिय नेतृत्व चयन गर्नेछ । सम्मेलनमा संविधानविद् काशीराज दाहाल र पत्रकार डिआर घिमिरेले कार्यपत्र पेश गरेका थिए ।

    सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणपत्रसमेत जारी गर्ने मणिमकुन्द सेन उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले जानकारी दिए ।