
काठमाडौँ– नेपालको पर्यटन प्रवर्द्धनका लागि युवा पत्रकार तथा कलाकारको टोलीले ताप्लेजुङ–दार्चुला बाइक यात्रा सुरु गरेका छन्। एनटिपी मल्टिमिडिया ग्रुपले जेठ १० गते बुधबारदेखि सुरु भएको बाइक टुर २५ गते सम्पन्न हुने छ । बुधबार काठमाण्डौबाट प्रस्थान गरेको बाइक टुरको टोली मध्यपहाडी लोकमार्ग भएर सिन्धुली, हुँदै खोटाङ पुगेको छ ।
त्यहाँबाट भोजपुर हुँदै ताप्लेजुङ पुग्ने र ताप्लेजुङदेखि मेची राजमार्ग हुँदै झापा पुग्ने योजना रहेको नेपाल टुरिजम प्रोमोसन टुर (ताप्लेजुङ–दार्चुला) का संयोजक विष्णु विवेकले बताए। झापादेखि महेन्द्र राजमार्ग हुँदै कञ्चनपुर र कञ्चनपुरदेखि अत्तरिया हुँदै डडेल्धुरा भएर दार्चुला पुग्ने योजना ग्रुपको रहेको छ।
यस्तै, दार्चुलाबाट मध्यपहाडी लोकमार्ग भएर डोटी, अछाम, कालीकोट, दैलेख भएर सुर्खेत सदरमुकाम वीरेन्द्रनगर झर्ने छ।एनटिपी मल्टिमिडिया ग्रुपको संयोजनमा पूर्वदेखि पश्चिमसम्मका मुख्य पर्यटकीय गन्तव्यहरूको थप प्रचार-प्रसार र पर्यटन प्रवर्द्धनका लागि सामूहिक प्रयास स्वरूप ताप्लेजुङ–दार्चुला बाइक टुर गर्न लागेको नेपाल टुरिजम प्रोमोसन टुर (ताप्लेजुङ–दार्चुला) का संयोजक विष्णु विवेकले बताए।
पाँच वटा बाइकमा १० जनाको टिमले गर्ने टुरको लागि नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एसोसिएसन अफ नेपाल (हान) र नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसीआई)सँग सहकार्य गरिएको उनले बताए ।

