२०८१ आश्विन २१ गते, सोमबार ११:०९
  • ताप्लेजुङ-दार्चुला टुर टिमको अनुभव : लुम्बिनी आउँदा बाटोको दुःख विर्सायो

    बुटवल– पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पत्रकार र कलाकारको एउटा टिम अहिले नेपालको पूर्वदेखी पश्चिमसम्म मोटरसाइकिलको यात्रामा छ। एनटिपी मल्टिमिडिया ग्रुपद्वारा आयोजित ‘ताप्लेजुङ–दार्चुला पर्यटन प्रवद्र्धन टूर’ गत जेठ १४ गते ताप्लेजुङको सदरमुकाम फुङलिङबाट सुरु भएको हो। झापा आएर जनकपुर, चितवन, लुम्बिनी हुँदै यो टोली अहिले सुदुरपश्चिम प्रदेश पुगिसकेको छ।

    नेपाल उद्योग वाणिज्य महासङ्घ, होटल एशोसिएसन अफ नेपाल (हान), नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस (नाट्टा), नेपाल पर्यटन बोर्डको सहकार्यमा टूरको आयोजना गरिएको हो।

    यही जेठ १८ गते बाइक टुरको टिम लुम्बिनी आएको थियो। राजमार्ग विस्तारका कारण नारायणगढ–बुटवल सडकयात्रा निकै कष्टकर छ। तर लुम्बिनी आइसकेपछि भने त्यो कष्टकर यात्रा विर्साएको टुरमा सहभागी विष्णु विवेक बताउँछन्।

    विष्णुले ताप्लेजुङ दार्चुला टुर टिमको मोटरसाइकिल यात्रा अनुभव यसरी सुनाए।

    काठमाडौंबाट हामी मध्येपहाडी राजमार्ग भएर चार दिनका दिन ताप्लेजुङ पुग्यौं। जेठ १४ गते ताप्लेजुङको फुङलिङबाट यात्रा सुरु भयो । मेचि राजमार्ग भएर पहिलो दिन हामी इलाम पुग्यौं । भोलिपल्ट झापा हुँदै विराटनगर आएर कार्यक्रम गर्यौ। १६ गते विराटनगरबाट जनकपुर पुगि अर्को कार्यक्रम भयो। अर्को दिन जनकपुरबाट चितवन आइ सौराहा बस्यौं।

    चितवनबाट फेरी पश्चिम तर्फ अघि बढ्यौं। अबको हाम्रो गन्तव्य लुम्बिनी थियो।नारायणगढ – बुटवल सडकको यात्रा साह्रै कष्टकर रहेछ। राजमार्ग विस्तार गर्न लागेकाले यात्रा खाल्डाखुल्डी र धुलाम्य थियो । कति साथीहरुले यस्तो दुख भएको भए यसरी हिड्दैन थियौं भनेर भन्थे । बुटवल नआउँदै परासी, भैरहवा हुँदै हामी लुम्बिनी आइपुग्यौं। नारायणगढबाट लुम्बिनी आउन झण्डै ७ घण्टा लाग्यो। यहाँका पर्यटन व्यवसायीको गुनासो पनि सडकको अस्तव्यस्तता नै थियो।

    लुम्बिनी आइसकेपछि भने बाटोको दुख विर्साउँदो रहिछ। मायादेबी मन्दीर परिसरमा पुग्दा त साह्रै आनन्द अनुभव भयो। विहान हामीले लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा साक्यसँग मायादेशी परिसरमै अन्तरक्रिया गयौं।

    समग्रममा लुम्बिनीका पूर्वाधार काठमाडौँ भन्दा पनि राम्रो देखिन्छ। तर अझै कतिपय कुराहरु व्यवस्थित गर्नुपर्ने छ। मायादेवी मन्दिरको वरिपरि खाली खुट्टा घुम्दा पैतला पोलेर अलि गाह्रो भयो। अरु पर्यटकहरुलाई कस्तो भयो होला भन्ने चिन्ता लाग्यो। गर्मी मौसमका कारण यस्तो भएको होला। यसको लागि कार्पेट वा दुबो विच्छाएर पर्यटकहरुलाई सहज गराउन हामीले सुझाब दियौं।

    लुम्बिनीलाई नै मध्य विन्दु बनाएर हामीले पर्यटन प्रवद्र्धन टुर गरेका हौं। हाम्रो यात्रामा सबैभन्दा महत्वपूर्ण लुम्बिनी हो। विश्वसम्पदा सुचीमा भएको क्षेत्र, गौतमबुद्धको जन्मस्थलका भएकाले महत्वपूर्ण भएको हो।हामीले बाइक टुर गर्दा तिलौराकोट विश्व सम्पदाको सुचीमा पर्नुपर्छ भन्ने कुरालाई पनि हामीले लबी गरेका थियौं।

    लुम्बिनीमा झण्डै ८– १० घण्टा वितायौं। त्यहाँबाट कपिलबस्तुको गोरुसिंहे निस्केर पूर्वपश्चिम राजमार्ग हुँदै नेपालगञ्ज पुग्यौं। नेपालगञ्जबाट अहिले महेन्द्रनगरमा छौं। महेन्द्र नगरबाट डडेलधुर पुगेर सोमबार दार्चुला पुग्छौं।

    यात्रामा हामी ५ जना पत्रकार र एक जना कलाकार छौं। म विष्णु विवेक सहित चन्द्र तामाङ, रियाज पौडेल, चन्द्रकला कार्की, पवित्रा खड्का हुनुहुन्छ।

    टुरिजमलाई प्रभाव पार्ने भनेको जलवायु परिवर्तनले हो। अबको केही वर्षमा जलवायु परिवर्तन चुनौति बन्न सक्छ। हिमालमा हिउँ पर्छ, तराइमा गर्मी बढ्छ। त्यस्तै दिगो पर्यटनमा हामी हामीले ध्यान दिनुपर्छ। प्लाष्टीको प्रयोग कम गर्नुपर्छ। ऋहिले नै नाफा कमाउँ भनेर गर्न पनि भएन। नेपालको पर्यटन प्रवद्र्धन, पर्यटनमा जलवायु परिवर्तन र दिगो पर्यटन यी तीन वटा एजेण्डा बोकेर हामीले यात्रा गरेका हौं।