२०८१ आश्विन २१ गते, सोमबार १३:०८
  • लुम्बिनी विकास कोषद्वारा बृहत्तर लुम्बिनी क्षेत्रका पालिकासँग छलफल

    लुम्बिनी– लुम्बिनी विकास कोषले आगामि आर्थिक वर्ष २०८०÷८१ को नीति कार्यक्रममा सहकार्यका बिषयमा बृहत लुम्बिनी क्षेत्रका स्थानीय तहहरुसँग छलफल गरेको छ। लुम्बिनी सहित अन्य बुद्धस्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सहकार्य गर्ने गरि छलफल कार्यक्रम गरिएको हो।

    बुद्धजन्मस्थल लुम्बिनीको विकाससँगै बुद्धको गृहनगर तिलौराकोट, अस्तुधातु रहेको रामग्राम र मावली देवदहका पुरातात्विक क्षेत्रहरुको संरक्षण, उत्खनन र प्रवद्र्धनमा सहकार्य गर्ने उदेश्यले छलफल कार्यक्रम गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए।

    उनले आगामि आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा स्थानीय सरकारसँग सहकार्यमा बृहत्तर लुम्बिनी क्षेत्रमा उत्खनन र प्रवद्र्धनमा काम गरिने बताए।

    छलफलमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँनले लुम्बिनीको बाहिरी क्षेत्रमा पनि पर्यटक लोभ्याउने गरि विकास गर्नुपर्नेमा जोड दिए। रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले रामग्रामको संरक्षण हुन नसकेको भन्दै आफुहरु त्यहाँको विकासका लागि सहकार्य गर्न तयार रहेको उल्लेख गरे।

    सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक मोहम्द खाँले लुम्बिनी आउने पर्यटकलाई कम्तीमा ३ दिन बस्ने वातावरण बनाउनुपर्ने बताए। सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र शर्माले सैनामैना पनि बुद्धसँग सम्बन्धित क्षेत्र भएको दावी गर्दै त्यहाँका पुरातात्विक क्षेत्रहरुमा उत्खननका लागि सहकार्य गर्न तयार रहेको जानकारी दिए।

    छलफलका अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले पटक–पटक बृहत्तर लुम्बिनी क्षेत्रमा विकास हुन नसकेको भन्दै गुनासो आइरहेकाले त्यसलाई आगामि दिनमा सम्बोधन गर्न कार्यक्रम गरिएको बताए। उनले स्थानीय तहले पनि आफ्ना सम्पदा क्षेत्रहरुको संरक्षण र प्रवद्र्धनमा बजेट छुट्याएर जानुनपर्नेमा जोड दिए।

    कार्यक्रममा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले लुम्बिनी गुरुयोजना, बृहत्तर लुम्बिनी क्षेत्र र आगामि योजनाका बारेमा प्रस्तुती राखेका थिए । उनले रुपन्देही, कपिलबस्तु र नवलपरासीका बौद्धस्थलहरुको विकासका लागि कोषका तर्फबाट कामहरु भइरहेको सुनाए।

    छलफलमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, सैनामैना नगरपालिकाका उपप्रमुख विना राना, सिद्धार्थन नगरनगरपालिकाका उपप्रमुख उमा अधिकारी, लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत हरिप्रसाद ज्ञवाली, देवदह नगरपालिकाकाका अधिकृत गंगाप्रसाद पन्थीको सहभागिता थियो।