२०८१ आश्विन २१ गते, सोमबार १३:१६
  • मे महिनामा लुम्बिनीमा चिनिया पर्यटक बढे, अरु मुलुकका घटे


    लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनीमा पछिल्लो समय चिनिया पर्यटकको आगमन बढ्दै गएका छन्। सन २०२२ को वर्षभर छिमेकी मुलुक चिनबाट ४३२ पर्यटक मात्र लुम्बिनी आएका थिए। अघिल्लो वर्षको कुल संख्या भन्दा ९ जना कम अर्थात ४२३ पर्यटक २०२३ को मे महिनामा मात्र लुम्बिनी आएका हुन्।

    यो वर्षको ५ महिनामा मात्र १ हजार २०८ चिनिया पर्यटक बुद्धको जन्मस्थलमा आएको लुम्बिनी विकास कोषले जनाएको छ।
    २०२२ को कुनै पनि महिनामा चिनिया पर्यटकको आगमन संख्या सय पुगेको थिएन। सो वर्षको डिसेम्बर महिनामा सबैभन्दा चिनबाट ९२ जना पर्यटक आएका थिए।

    यो वर्षको जनवरीमा १८ चिनिया मात्र आए। तर फेबुररीबाट चिनिया पर्यटकको ग्राफ निरन्तर उकालो लागेको छ। फेबुरीमा ११५, मार्चमा २३६, अप्रिलमा ४१६ पर्यटक आउँदा मे महिनामा ४३२ चिनिया पर्यटक लुम्बिनी आएका हुन्। अत्याधिक गर्मीका कारण अप्रिलको तुलनामा मे महिनामा अन्य धेरै मुलुकका पर्यटक घटेका छन्। तर चिनिया पर्यटकको संख्या भने केही बढेको देखिएको हो।

    चिनले गत मार्च १५ तारिखदेखी लागु हुने गरि पर्यटकीय गन्तव्यमा नेपाललाई पनि समावेश गरेको थियो। जसका कारण पर्यटक बढेको लुम्बिनी विकास कोषका सुचना अधिकृत हरि राइले बताए। ‘कोभिडका कारण चिनले आफ्ना नागरिकलाई बाहिर मुलुकको भ्रमणमा कडाइ गरेको थियो। अहिले नेपाललाई पनि गन्तव्यको सूचीमा राखेपछि लुम्बिनीमा पनि चिनिया पर्यटक बढेका हुन्।’ उनले भने ‘रुस र युक्रेनको युद्ध रोकिएमा अब बर्खापछि झन सुधार हुन सक्छ।’

    लुम्बिनीमा चिनिया पर्यटकको आगमन आशालाग्दो भएपनि पर्याप्त होइन । कोभिड अघि सन २०१९ को मे महिनामा १४ सय पर्यटक लुम्बिनी आएका थिए।लुम्बिनी होटल संघ नेपालका बरिष्ठ उपाध्यक्ष लिलामणी शर्माले चिनिया पर्यटकको आगमन बढेको देखिएपनि पर्यटन व्यवसायीले अनुभुति गर्न नपाएको बताए।

    ‘मे महिनामा बुद्धजयन्तीको आसपासमा चिनियाहरु आएका हुन्। उनीहरु मध्ये धेरै गुम्बामै बसे । ‘ उनले भने ‘थोरै मात्र होटलमा बसे। त्यसैले हामी व्यवसायीले अझै फाइदा लिन सकेका छैनौ। दसैं पछि अझै बढ्छन् कि भन्ने आशा गरौं।’ शर्माले चिनिया पर्यटक केही दिन भुल्ने र खर्चालु भएको भन्दै उनीहरुको संख्या बढाउन सके लुम्बिनीको पर्यटन क्षेत्रलाई राम्रो फाइदा हुने उल्लेख गरे।