२०८१ आश्विन २१ गते, सोमबार ११:०६
  • ‘ताप्लेजुङ–दार्चुला बाइक टूर’ सम्पन्न

    दार्चुला– ‘ताप्लेजुङ–दार्चुला बाइक टूर’ सम्पन्न भएको छ। पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले पत्रकार र कलाकारहरुको एक टोलीले जेठ १० गतेदेखी यात्रा सुरु गरेका थिए। जेठ १० गते काठमाडौबाट हिडेको टोली ४ दिनका दिन ताप्लेजुङ पुगेको थियो।

    जेठ १४ गते ताप्लेजुङको सदरमुकाम फुङलिङबाट औपचारिक यात्रा सुरु गरेको टोली दशौँ दिनमा सुदुरपश्चिमको दार्चुला पुगेको हो। १५ दिनको यात्रामा टोली ४५ भन्दा बढि जिल्ला पुगेको थियो। बुधवार दार्चुलामा पत्रकार सम्मेलन गर्दै यात्रा सफलतापूर्वक सम्पन्न भएको टोलीले जानकारी दिएको हो।

    मङ्गलवार दिउँसो दार्चुलाको सदरमुकाम खलङ्गा प्रवेश गरेको टोली साँझ सो जिल्लाको दुहुँ गाउँपालिका–२ स्थित हिकिला गाउँ पुगेका थिए। त्यहाँ दुहुँसँगै दार्चुलाको पर्यटकीय सम्भावना र चुनौति, पर्यटकीय आकर्षण, प्रवर्द्धन, जलवायु परिवर्तन लगायत विषयमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयसँग अन्तरक्रिया गरिएको थियो।

    टोलीले पाँच वटा प्रदेशको विभिन्न स्थानमा स्थानीय जनप्रतिनिधि, पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि लगायत स्थानीय सरोकारवालाहरूसँग पर्यटन प्रवर्द्धन, पर्यटनमा जलवायु परिवर्तनको असर लगायत विषयमा छलफल गरेको छ। ताप्लेजुङबाट, इलाम, झापा, मोरङ, जनकपुर, चितवन, लुम्बिनी, बर्दिया हुँदै दार्चुला पुगेको टोलीले यी क्षेत्रका जनप्रतिनिधि, सरकारी अधिकारी, संघसंस्थाका प्रतिनिधि र स्थानियहरुसँग पनि छलफल र अन्तरक्रिया गरेको थियो।

    बाइक यात्राका क्रममा एक हजारभन्दा बढी स्थानिय सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको टूरका संयोजक विष्णु विवेक विश्वकर्माले पत्रकार सम्मेलनमा जानकारी दिए ।आफ्नो संयोजनमा टिमले गरेको यात्रा ऐतिहासिक भएको र यसले नेपालको पर्यटन प्रवर्द्धनमा निकै ठुलो योगदान पुग्ने उनको दाबी छ।

    टोलीसँगको अन्तरक्रियामा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले पत्रकार र कलाकार सम्मिलित टोलीको यस यात्राले दार्चुलाको मात्रै नभएर समग्र देशको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्। उनले दार्चुलाको पर्यटन प्रवर्द्धन, विकास र विस्तार, सम्भावना र चुनौती लगायत विषयहरूमा सञ्चारमाध्यमहरूमा प्रचारप्रसार गरिदिन समेत आग्रह गरेकी छन्।

    अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी किरण जोशीसहित जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी तर्कराज पाण्डे, महाकाली नगरपालिकाकी उपमेयर दुर्गा कुमारी खत्री, उद्योग वाणिज्य महासङ्घ दार्चुलाका अध्यक्ष, सुरेश सिं थापा, नेपाल पत्रकार महासङ्घ दार्चुलाका अध्यक्ष कृष्ण दामी लगायत सहभागी थिए।

    टूर टिममा संयोजक विष्णु विवेक विश्वकर्मा, चन्द्र तामाङ, राजाराम पौडेल, पवित्रा खड्का, चन्द्रकला कार्की रहेका छन्। टोली विहीबार काठमाडौंको लागि प्रस्थान गर्ने छ।

    एनटिपी मल्टिमिडिया ग्रुपको संयोजन, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, हान, नाट्टा, टान आदी सङ्घ संस्थाको सहकार्यमा ‘ताप्लेजुङ–दार्चुला बाइक टूरको आयोजना गरिएको हो।