२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • नेपाल एयरलाइन्सको उडानले रुपन्देहीका व्यवसायीलाई आशासँगै आसंका

    भैरहवा– नेपाल बायुसेवा निगमले अन्तराष्ट्रिय उडानको लागि भैरहवाको विमानस्थल उपयोग गर्न थालेको छ। मंगलबार विहान मलेसियाको क्वालालाम्पुरबाट आएको निगमको जहाज भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल उद्घाटन भएको झण्डै १३ महिनापछि निगमले भैरहवाबाट अन्तराष्ट्रिय उडान प्रक्रिया सुरु गरेको हो।

    निगमको जहाजलाई स्वागत गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँती भैरहवा आएका थिए। उनी सँगै पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्यन प्राधिकरणका महानिर्देशक सहित उद्योगी व्यवसायीहरु पनि थिए।

    भैरहवामा अन्तराष्ट्रिय विमानस्थल बन्ने भएपछि यस क्षेत्रका व्यवसायीहरु निकै खुशी भएका थिए। लुम्बिनीमा पर्यटन आगमन ह्वात्तै बढ्ने र रुपन्देहीको आर्थिक कारोबार बढ्ने उनीहरुको आशा थियो । तर अन्तराष्ट्रिय विमानस्थल उद्घाटन भए पनि राम्रोसँग चल्न भने सकेन।

    उद्घाटनसँगै कुवेतको जजिरा एयरवेजले उडान थालेको थियो। तर जजिराको उडानले पनि निरन्तरता पाउन सकेको छैन। मौसमको कारण देखाउँदै गत पुसदेखि उडान रोकेको जजिराले फागुनदेखी पुन उडान सुरु गरेको थियो। बैशाखदेखि भने व्यवसायीक कारण देखाउँदै उडान रोकेको छ।

    १३ महिनासम्म अन्य कुनै उडान नथपिँदा पर्यटन व्यवसायीहरु चिन्तीत थिए। व्यवसायीहरुले अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न पटक पटक सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरुले नेपाल एयरलाइन्सलाई भैरहवाबाट पनि उडान गराउन पटक पटक माग गर्दै आएका थिए।

    मंगलबारबाट व्यवसायीहरुको मागले केही हदसम्म सार्थकता पाएको छ। नेपाल एयरलाइन्सको आजको उडानले रुपन्देहीका व्यवसायीहरुले आशासँगै आसंका पनि व्यक्त गरिरहेका छन्। एकातिर नेपाल एयरलाइन्सको उडान थपिदै जानेमा आशा गरिएको छ भने अर्को तर्फ देखाउनको लागि उडान सुरु हुने तर थपिनुको सट्टा यसले निरन्तरता पो नपाउने हो कि भन्ने आसंका र चिन्ता पनि व्यवसायीहरुमा छ।

    मलेसियाबाट आएको निगमको जहाजको स्वागत पछि आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले मन्त्री किराँतीको अगाडि जहाज मात्र देखाएर झुक्याउने काम नगर्न आग्रह गरे । ‘अन्तराष्ट्रिय विमानस्थल बनिरहँदा यस क्षेत्रमा धेरै खुशीयाली छाएको थियो। ३६ अर्ब सरकारको खर्च भइरहँदा नीजि क्षेत्रबाट ८० अर्ब लगानी भइसकेको छ ।’ उनले भने ‘हामीले यती मात्र भनेका छौं। रुटका र प्राविधिक कुरा हामी बुझ्दैनौं यो एयरपोर्ट सञ्चालनमा ल्याइदिनुस्। झुक्याउने काम नहोस् ।’शर्माले काठमाडौँबाट हुने ५ वटा उडान मध्ये कम्तीमा एउटा उडान भैरहवाबाट गर्न आग्रह गरे।

    पर्यटन व्यवसायी तथा सोटो लुम्बिनीका अध्यक्ष सञ्जय बजिमयले भैरहवा विमानस्थल चल्छ भन्ने अब केही आशा पलाएको सुनाए। ‘प्रधानमन्त्रीको भ्रमण पछि नेपाल भारत सम्बन्ध राम्रो भएको छ। मलाइ लाग्छ नेपाल एयरलाइन्सले निकट भविश्यमा भैरहवा दिल्ली उडान गर्छ र मलेशिया पनि दोहोरो हुन्छ।’ उनले भने ‘हिमालय एयरलाइन्सले चाइना, नेपाल एयरलाईन्सलाई मलेसिया र बुद्धिष्ट मुलुकहरुमा यहाँबाट उडान गर्नुपर्छ भनेर हामीले पहल गरिहेका छौं ।’

    अर्का पर्यटन व्यवसायी नाटा लुम्बिनीकी अध्यक्ष रचना पन्तले निगमको आजको उडानले झिनो आशा मात्र पलाएको सुनाइन्।
    ‘नेपाल एयरलाईन्सले पहिलो पटक यहाँबाट व्यवसायीक उडान गरेको छ । मलेसिया र भैरहवाको उडानले मात्र अहिले लक्षीत प्रतिफल देला जस्तो लाग्दैन ।’ उनले भनिन् ‘आगामी गन्तव्यमा उडान थपिँदै जाला भन्ने आशाको त्यान्द्रो मात्र पलाएको हो ।’ भैरहवा मलेसियासँगै नेपाल एयरलाइन्सको जहाजले अब भैरहवाबाट दिल्ली, दुबइ लगायतका ठाउँमा उडान गर्नुपर्ने बताइन्।