२०८१ आश्विन २१ गते, सोमबार १३:१०
  • लुम्बिनीको बजेटमा पर्यटन : बयलगाढा यात्रा र बुल राइडीङदेखि ब्रीज पार्कसम्म

    कुन कुन कार्यक्रम, कति विनियोजन


    बुटवल– लुम्बिनी प्रदेश सरकारले शुक्रबार प्रदेश सभामा आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री धनबहादुर मास्केले प्रस्तुत गरेको बजेटमा पर्यटनसँग सम्बन्धित १४ वटा बुँदा राखिएको छ। जसमा बयलगाढा यात्रासँगै, बुल राइडिङ, बुल ड्राइभ, बफेलो ड्राइभ जस्ता कार्यक्रम पनि समेटिएको छ।

    बजेटको १४७ नम्बर बुँदामा ‘प्रदेशको मौलिकता झल्काउने बुल राइडिङ, बुल ड्राइभ, बफेलो ड्राइभ बयलगाढा यात्रा, पहाडी घोडा यात्रा लगायतका सहासिक र मनोरञ्जनात्मक कार्यलाई सम्मानजनक पर्यटन व्यवसायको रुपमा विकास गर्न आवश्यक प्रबन्ध मिलाइने छ’ भनिएको छ ।

    पर्यटन सम्बन्धी बजेटमा ब्रीज पार्कको लागि पनि बजेट विनियोजन गरिएको छ। न्युनतम लगानीमा काष्ठ लगायतका कच्चा पदार्थको प्रयोग गरी शान्त वातावरणमा पर्यावलोकन र मनोरञ्जनात्मक पार्क स्थापना गर्न प्रोत्साहन गर्दै झोलुंगे पुल उद्यान ( सस्पेन्सन ब्रिज पार्क)को अवधारणामा प्रकृतीमैत्री र पर्यटकिय पूर्वाधारको विकास गरिने उल्लेख छ। जस अनुसार बर्दिया सस्पेन्सन ब्रीज पार्क र बबइ सस्पेन्सन ब्रीज पार्कका लागि अध्ययन र निर्माणका लागि बजेट विनियोजन गरेको मन्त्री मास्केले बताए।

    बृहत बुद्ध सर्किट विकास गर्न संघ सरकारसँग समन्वय गरि कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचिकृत गराउन बजेट विनियोजन गरिएको उल्लेख छ। प्राचिन स्मारक, ऐतिहासिक कोट गढी किल्ला धार्मिक सांस्कृतिक सम्पदा लगायतको लागि ४ कराड छुट्याइएको छ । दाङको दङगीसरण संग्रालय र पाल्पा दरबार संग्रालय लगायत अन्य ऐतिहासिक संग्रालयको स्तरोन्नती र व्यवस्थापनको लागि ४ करोड ५० लाख विनियोजन भएको छ।

    अर्घाखाँचीको पाणिनी तपोभूमि, पाल्पाको भैरवस्थान, रानीमहल, प्युठानको स्वर्गद्वारी, बाँकेको बागेश्वरी, बर्दियाको ठाकुरबाबा, दाङको पुरनधारा झरना, धारापानी, रिहार, रतननाथ मन्दिर, रोल्पाको जलजला, रुकुमपूर्वको सिस्ने, कमलदह, रुपन्देहीको देवदह, जितगढी किल्ला, नवलपरासी पूर्वको रामग्राम, गुल्मीको रुरु सांस्कृतिक केन्द्र रेसुंगाले पनि आगामी वर्ष प्रदेश सरकारको बजेट पाउने भएका छन्।

    बुद्धजन्मस्थल लुम्बिनीको माटो र पानीको प्रयोग गरि कोशेली उत्पादन र बजारीकरणको लागि प्रदेश सरकारले १ करोड ५० लाख छुट्याएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा कोशेलीघर सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।लुम्बिनीमा नोबेल पुरस्कार विजेता तथा विभिन्न देशका राजनोताहरुको सहभागीतामा ‘लोरेट एण्ड लिडर’ कार्यक्रम सञ्चालनको लागि लुम्बिनी प्रदेश सरकारले ६ करोड ५० लाख रुपैया छुट्याएको छ। टुर गाइड, हाउस किपिङ लगायत पर्यटनसँग सम्बन्धित सिपमुलक प्रशिक्षणको लागि ७ करोड विनियोजन भएको छ।

    लुम्बिनीको बजेटमा लुम्बिनी क्षेत्र, बर्दिया र स्वर्गद्वारीलाई जोड्ने गरि गोल्डेन ट्याङगल सर्किट बनाउने उल्लेख छ। गोल्डेन ट्याङगल सर्किट सहित दाङ, बाँके र बर्दियालाई जोड्ने गरी थारु सांस्कृतिक सम्पदा सर्किट, रुकुम पूर्व, पाल्पा र रोल्पालाई जोड्ने गरी मगर सांस्कृतिक सम्पदा सर्किटस, कपिलवस्तु, नवलपरासी पश्चिम र रुपन्देहीलाई जोड्ने गरी अवधि सांस्कृतिक सम्पदा सर्किट, प्यूठान, अर्घाखाँची र गुल्मीलाई जोड्ने गरी खस आर्य सम्पदा सर्किट को पर्यटकिय पूर्वाधार विकास गर्न प्रदेश सरकारले ५० लाख रुपैया विनियोजन गरेको छ।

    १२ वटै जिल्लामा विभिन्न समुदायको पहिचान झल्किने गरि सांस्कृतिक ग्रामलाई गुरुयोजना अनुरुप प्राथमिकता दिएको बजेट बक्तव्यमा भनिएको छ । विभिन्न जातजाती समुदायको रैथाने खानाको उत्पादन र बजारीकरणको लागि ४० लाख रुपैया छुट्याइएको छ ।