२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • ‘मद्राहनी बुद्धपार्क’को अवधारणाबारे छलफल

    बौद्धकालिन सभ्यताको उजागर गरि रोहिणी किनारमा पर्यटक आकर्षित गर्न सकिने

    तिलोत्तमा-रुपन्देहीको तिलोत्तमा नगरपालिकाको राहिणी नदि किनारमा बुद्धकालिन सभ्यताको उजागरसहित पर्यटकिय विकास गर्न सकिने अवधारणा तयार भएको छ। तिलोत्तमा -११ भुपुसैनिक उत्तर रोहिणि नदि किनारमा रहेको हरियालि सामुदायिक वन भित्र करिब ६ बिगाह क्षेत्रफलको लागि लुम्बिनी विकास कोषले ‘मद्राहनी बुद्धपार्क’ प्रारम्भीक गुरुयोजना तथा अवधारणा तयार गरेको हो।

    स्थानीय समुदायको अनुरोधमा तयार पारेको गुरुयोजना र अवधारणाबारे आईतबार तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरिएको छ । छलफल कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बुद्धकालिन सयममा कोलिय र शाक्य गणराज्यको सिमाका रुपमा रोहणीनदी रहेको त्यही सभ्यता उजागर गरेर पर्यटक आर्कषित गर्न पार्क निर्माणले सहयोग गर्ने बताए।

    उनले मायारानीबाट अपभ्रश भएर मद्राहानी कुमारवर्ति क्षेत्र बनेकाले मद्राहनी ऐतिहासिक पुरातात्विक रुपमा महत्वपूर्ण क्षेत्र रहेको बताए ।रोहीणी नदीको बिषयमा कोलिय र शाक्यहरूविच कुलोपानीको बाँडफाँड सम्बन्धि मतभेद हुँदा बुद्धले मध्यमार्ग अपनाएकाले यही सन्दर्भलाई मद्राहनी बुद्धपार्कबाट उजागर गर्न सकिने भट्टराइको धारणा छ । स्थानीयहरुको आग्रह अनुसार कोषले वाटर पार्क सहितको मद्राहानी पार्कको परिकल्पना गरि गुरुयोजना तयार पारेकाले स्थानीय सरकारलाई अगुवाई गर्न सक्ने उनले बताए।

    तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले पार्क निर्माणका लागि नगरपालिका सकरात्मक रहेको भन्दै स्थानीय समुदायको अग्रसरतामा योजना अघि बढाउने बताए। नगरउपप्रमुख चौधरीले अवधारणा अनुसार पार्क निर्माणका लागि वनसँग जग्गाको बिषयलाई टुंगो लगाएर जानुपर्नेमा जोड दिइन्।

    अवधारणा सम्बन्धी छलफलमा बौद्धग्रन्थका जानकार पूर्व प्रदेश सांसद डा. कृष्णप्रसाद न्यौपानेले रोहणी नदी बौद्धग्रन्थमा असाध्यै पवित्र नदीका रुपमा उल्लेख गरेकाले यसलाई आधार बनाएर पार्क निर्माण गर्न सके त्यसले देवदह र तिलोत्तमा क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने धारणा राखे। उनले बुद्धजन्मस्थल लुम्बिनीसँगै देवदह र रामग्राममा पर्यटकीय पूर्वाधार थपिदा पर्यटकको बसाईअवधि थपिने उल्लेख गरे ।

    कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्री, जनप्रतिनिधि राधा शाही, गोपाल घिमिरे, लुम्बिनी विकास कोषका वनस्पती शाखा प्रमुख कमलेश प्रसाद वर्मा, ईञ्जिनियर नविन कर्ण, कन्सल्टेन्ट इञ्जिनियर सञ्जु कैनी लगायतले सुझाव दिएका थिए।