२०८१ आश्विन २१ गते, सोमबार १३:१३
  • गर्मी छल्न हिल स्टेसन पुग्ने क्रम बढ्दो, पहाडी जिल्लाका होटल-रिर्सोटमा भारतीय पर्यटकको चाप

    बुटवल –तराई क्षेत्रमा यतीबेला तिब्र गर्मी छ। रुपन्देहीमै तापक्रम ४४ डिग्री सेल्सीयस नजिक पुगेको छ। गर्मी छल्न कतिपय हिल स्टेसन अर्थात पहाडी क्षेत्र तिर जाने क्रम बढेको छ। गुल्मी, अर्घाखाँची, पाल्पाका हिल स्टेसनमा अहिले पर्यटकिय चहलपहल बढेको छ। त्यहाँका होटल रिर्सोटहरु पनि भरिभराउ छन्। यी होटल रिसोर्टहरुमा विशेष गरि भारतीय पर्यटकको चाप छ।

    अर्घाखाँचीको सुपादेउराली मन्दिरको केही दुरीमा पर्ने नरपानी रिर्सोटमा गर्मी छल्न आउने पर्यटकको भिड बढेको छ। विशेष गरि यहाँ भारतीय पर्यटकहरुको बढि आउने गरेका छन्। आएका पाहुनाहरुलाई कोठा दिन नसकेर फर्काउनुपरेको नरपानी रिसोर्टका प्रबन्ध निर्देशक जीबलाल पौडेलले बताए। ‘दिनमा डेढ दुई सय गाडीमा पाहुनाहरु आउनुहुन्छ। बस्न खोजेका सबैलाई हामीले बसाल्न सकेका छैनौं।’ उनले भने ’जेठ २५ गते यता ७० देखी ८० कोठाका पाहुना फर्काएका छौं । अस्तीको सुक्रबार धेरै नै पाहुना फर्काउनुपर्यो।’

    कतिपय यहाँ आएर फकर्नु परेको छ भने फोन मार्फत कोठा बुक गर्न खोजेकालाई पनि स्वागत गर्न नपाएको पौडेलको भनाइ छ। नगरपानी रिसोर्टमा अहिले १५ वटा कोठा छ। छिट्टै ७ वटा कोठा थप्न लागेको प्रबन्ध निर्देशक पौडेलले बताए।

    ४० वटा कोठा रहेको पाल्पा तान्सेनमा अवस्थित होटल श्रीनगरले पनि पर्यटकलाई राम्रै स्वागत गर्न पाएको छ। एक हप्ता यता भारतीय पर्यटहरुको निकै बढेको होटल म्यानेजर अशोक थापाले जानकारी दिए। ‘एक हप्ता जति भयो भारतीय पर्यटकहरु राम्रै आइरहनुभएको छ । कुनै दिन त आएका पाहुनाहरुले कोठा नपाउने अवस्था छ।’ उनले भने ‘अत्याधिक गर्मीे छ। भारतमा यतिबेला विद्यालयहरु पनि बन्द भएकाले चिसो ठाउँमा घुम्न आउने क्रम बढेको हो।’

    भैरहवासँगै सिमावर्ती भारत लगायतका ठाउँमा अहिले ४४ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम छ । पाल्पाको बतासेडाँडा, श्रीनगरमा २८–२९ डिग्री भन्दा तापक्रम माथि जाँदैन। त्यसैले पनि चिसो र सितल खोज्दै पर्यटकहरु आउने क्रम बढेको हो।
    होटल श्रीनगर मात्र नभएर पाल्पाका अरु होटलहरुमा पनि पाहुनाहरुको राम्रै चहलपहल छ। शुक्रबार र शनिवार अझ बढि भिड हुने गर्दछ।

    चिसो र सितल खोज्ने पर्यटकहरुको रोजाइ गुल्मीको रेसुंगा पनि पर्दछ। देशभर सञ्जाल रहेको होटल पौवाले रेसुंगामा पनि रिसोर्ट सञ्चालन गरेको छ। रेसुंगामा रहेको पौवा रिसोर्टमा पनि एक हप्ता यता भारतीय पर्यटकको चहलपहल रहेको रिसोर्टका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए। ‘पहिले खासै पहुना आउँथेनन् ।अहिले भारतीय पर्यटकहरु पनि आइरहनुभएको छ ।’ उनले भने ‘कतिपयलाई फर्काउन पनि परेको छ। त्यसैले कोठाहरु थप्ने तयारी गरेका छौं।’

    पैवा रिसोर्टमा अहिले ११ वटा कोठा छ । गर्मी याममा पहाडी क्षेत्रमा देखिएको पर्यटकिय आकर्षणले पर्यटकिय सम्भावना पनि उजागर गरेको छ । पर्यटकिय सम्भावना भएका ठाउँ पहिचान गरेर पूर्वाधारहरु तयार गर्ने हो भने अझै थुपै पर्यटक आकर्षित गर्न सकिन्छ ।