२०८१ आश्विन २१ गते, सोमबार १३:०५
  • ‘ड्रागन बोट रेस’को उपाधि सिचुवानलाई

    पोखरा– पोखरामा भएको ‘ड्रागन बोट रेस’को उपाधि चिनको सिचुवान ड्रागन बोट टिमले हात पारेको छ। शुक्रबारबाट पोखराको फेवातालमा नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ सुरु भएको थियो। शनिबार भएको २ सय र ५ सय मिटरको अन्तिम रेसमा सिचुवान ड्रागनले दुबै स्पर्धामा जित निकाल्दै उपाधी जितेको हो।

    विजयी भएको सिचुवान ड्रागनले ५ लाख ५० हजार रुपैयाँका दरले दुबै विधामा गरि ११ लाख रुपैयाँ प्राप्त गरेको छ।
    प्रतियोगितामा नेपाली ‘नारा ड्रागन बोट टिम’ दुबै स्पर्धामा दोश्रो स्थान प्राप्त गरेको छ । दोस्रो भएको नेपाली टिमले ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ प्राप्त गरेको छ।

    यस्तै चिनको युनान ड्रागन बोट टिम दुवै स्पर्धामा तेश्रो हुँदै प्रति स्पर्धा २ लाखका दरले ४ लाख रुपैयाँ पाएको छ । प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो । प्रतियोगितामा नेपाल र चीनका ४–४ गरी ८ टिम सहभागी थिए। प्रतियोगितामा भाग लिएका ८ वटै टिमले नगद १–१ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

    विजेता खेलाडीलाई राष्टिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छन् छोङ, पोखरा महानगरका मेयर धनराज आचार्यलगायतले पुरस्कार प्रदान गरेका थिए।