२०८१ आश्विन २१ गते, सोमबार ११:०१
  • लुम्बिनीमा अलपत्र विद्युतीय सवारीको नम्बर प्लेट परिवर्तन गर्न सांसद घिमिरेको ध्यानाकर्षण

    बुटवल -रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले लुम्बिनीमा अलपत्र रहेका विद्युतिय सवारीको नम्बर प्लेट परिवर्तन गर्न ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद घिमिरेले विद्युतीय बस र भ्यानको नम्बर प्लेट परिवर्तन नहुँदा अनुदानमा प्राप्त सवारीसाधन सञ्चालनमा आउन नसक्दा वृहत्तर लुम्बिनी पर्यटकीय क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुले चरम सास्ती भोग्नु परेको उल्लेख गरे।

    एशियाली विकास बैंकको सहयोगमा दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजना अन्र्तगत् संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट लुम्बिनी विकास कोषमा हस्तान्तरण भई कोषको नाममा नामसारी भएका पाँच वटा विद्युतीय बस र चौध वटा विद्युतीय भ्यान लामो समयदेखी सञ्चालन नभई लुम्बिनीमा अलपत्र अवस्थामा छन। ति सवारी साधनको अहिले सेतो नम्बर प्लेट छ । ति सवारीलाई सञ्चालन गर्न हरियो नम्बर प्लेटमा परिवर्तन गर्नुपर्ने हुन्छ। सांसद घिमिरेले यो विषयमा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको ध्यानाकर्षण गराउँदै प्रश्न गरे ‘अनुदानमा प्राप्त गरेका सवारीसाधन पनि चलाउन नसक्नु कहाँसम्मको विडम्बना हो ?’

    सरकारी अर्थात् सेतो प्लेटमा दर्ता भएकोमा उक्त सवारी साधनलाई पर्यटक सवारी अर्थात् ९हरियो प्लेट० मा रुपान्तरण गर्न लुम्बिनी प्रदेश सरकारको २०८० वैशाख ०८ गतेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

    प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले २०८० वैशाख १३ गते मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न यातायात व्यवस्था कार्यालय (सवारी) रुपन्देहीलाई पत्राचार गरेकोमा सो कार्यालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्दा विद्युतीय गाडी, सौर्य उर्जा प्लाण्ट र चार्जिंग स्टेशन समेत गरी २८ करोडको अनुदान सहयोग परियोजना सञ्चालनमा आउन सकेको छैन।

    लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन भन्दै २०७७ मंसिर ९ गते यी विद्युतीय बस र ट्याक्सी लुम्बिनी ल्याइएको थियो । यी बस तथा भ्यानहरु साढे दुई वर्षदेखि लुम्बिनीमा खुल्ला आकाशमुनि थन्किएका छन्।