२०८१ आश्विन २१ गते, सोमबार १३:०३
  • पर्यटनमन्त्रीले प्राधिकरणका महानिर्देशकलाई सोधे ९ बुँदे स्पष्टीकरण

    ‘अन्तराष्ट्रिय विमानस्थलहरु सञ्चालनमा नहुनुमा तपाईँको कार्यक्षमता कम्जोर रहेको किन नमान्ने ?’


    काठमाडौँ -संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टिकरण सोधेका छन्।

    ९ बुँदे स्पष्टिकरणमा उनले भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेको बारेमा पनि प्रश्न गरेका छन्। ‘राज्यले दातृ निकायबाट अर्बौ रुपैया ऋण लिएर बनाइएका अन्तराष्ट्रिय विमानस्थलहरु सञ्चालनमा ल्याउन नसक्नुमा विमानस्थल सञ्चालकको समेत मुख्य भूमिकामा रहनुभएका तपाईँको कार्यक्षमता कम्जोर रहेको किन नमान्ने ?’ स्पष्टिकरण पत्रमा सोधिएको छ।

    एक वर्ष अघि २०७९ जेठ २ गतेदेखि सञ्चालनमा ल्याइएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नियमित अन्तराष्ट्रिय उडान हुन सकेको छैन । त्यस्तै गत पुस १७ गतेबाट सञ्चालनमा आएको पोखरा विमानस्थलबाट पनि अन्तराष्ट्रिय उडान भएको छैन।
    चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने निर्णय भएको, उक्त नीति विपरित विभिन्न कार्यक्रम तथा सञ्चारमाध्यममा प्रतिक्रिया दिइएको महानिर्देशक अधिकारीलाई आरोप लगाइएको छ । नीतिको परिपालना नगर्ने र उल्टै चुनौति दिने काम भएको भन्दै ‘के कति कार्यले तपाईले आफ्नो पदिय जिम्मेवारी विपरित सरकारका नीति विरुद्धका कार्य गर्नुभएको हो’ भनि प्रश्न गरिएको छ ।

    अधिकारी महानिर्देशक भएपछि २ वटा यात्रु विमान र ३ वटा हेलिकप्टर दुर्घट्ना भएको भन्दै उड्यन सुरक्षालाई किन प्रभावकारी बनाउन किन असफल रहेको भन्दै समेत प्रश्न गरिएको छ।

    पर्यटन मन्त्रालयले अधिकारीलाई दुर्घटना रोक्नभन्दा दुर्घटनापछिको प्रतिक्रिया दिन मात्रै अघि सरेको, एरोड्रम सेफ्टी स्टान्डर्ड विभाग र राष्ट्रिय गौरबका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाएर पोखरा विमानस्थलको प्रमाणीकरण गरेको, फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई उड्डयन सुरक्षा मूल्यांकनको पूर्व तयारीसमेत नगरीकन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको,परीक्षण उडानपछि प्रतिवेदन प्राप्त नभई एयरबस ३२० विमानलाई पोखरा विमानस्थलमा उडान गराएको विषयमा पनि महानिर्देशक अधिकारीलाई स्पष्टिकरण सोधिएको छ।

    पोखरा विमानस्थल उद्घाटनको दिन भीएफआरको समय सकिएपछि पनि लापरवाहीपूर्वक उड्डयन सुरक्षा नियम प्रतिकुल हुने गरी ५ वटा विमान कम्पनीका उडानहरु गराएको भन्दै उनलाई प्रश्न गरिएको छ। पोखरा विमानस्थलको सञ्चालनमा ल्याउन छिनडाँडा काट्दा आर्थिक हानि नोक्सानी पुर्याएको लगायतका विषयमा पनि स्पष्टकीरण सोधिएको छ।