२०८१ आश्विन २१ गते, सोमबार १३:१६
  • भैरहवाबाट एकैपटक प्रस्थान गर्नेछन् हङकङ र दिल्ली जाने यात्रु

    अब चलायमान होला त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

    बुटवल -अहिले नेपाल बायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज हरेक मंगलबार मलेसियाको क्वालालाम्पुरबाट भैरहवा आएर काठमाडौं जाने गर्दछ। क्वालाम्पुरबाट आएका केही यात्रु गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा झर्छन्। बाँकी यात्रु लिएर जहाज काठमाडौँ जान्छ। यसरी काठमाडौँ जाने जहाजमा आधाजसो सिट खाली हुन्छ। खाली सिटसहित जाँदा नेपाल एयरलाइन्सलाई घाटा छ।

    एकातर्फ जहाजका सिट खाली हुने अर्को तर्फ भैरहवाबाट तेस्रो मुलुक जाने मानिसहरु पनि हुन्छन्। अध्ययन गर्न जाने विद्यार्थी, उपचार गर्न जाने विरामी, रोजगारीको लागि जानेहरु प्रसस्तै हुन्छन्। रुपन्देही अनि नजिकका पहाडी जिल्ला लाहुरेको पनि बसाइ भएको ठाउँ हो। उनीहरु पनि हङकङ जाने आउने गर्न सक्छन्।

    यसलाई ध्यान दिएर नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र दिल्ली उडानको तयारी थालेको हो। अब दुई देश जाने यात्रु भैरहवाबाट एकैपटक प्रस्थान गर्न सक्ने नेपाल एयरलाईन्सका प्रवक्ता रमेश पौडेलले बुद्ध परिपथलाई बताए। ‘हङकङका यात्रु पनि त्यही फ्लाइटमा चढ्छन्, दिल्लीका पनि त्यसैमा चढ्छन्। भैरहवाबाट उडेको जहाज हङकङका जाने रहेछ भने काठमाडौँ पुगेपछि हङकङका मान्छे झर्न परेन। दिल्ली जाने यात्रु भने झरेर नेपाल एयरलाईन्सकै अर्को जहाजमा जाने हो। बैंङलोर जानेहरु त्यतै जाने जहाजमा जान्छन्।’ उनले भने ‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमै यात्रुलाई भैरहवा र काठमाडौँ दुबै ठाउँको बोर्डिङ पास दिइन्छ। यात्रुको ब्यागेज पनि त्यही तरिकाले व्यवस्थापन हुन्छ। काठमाडौँमा कलेक्सन गर्नुपर्दैन। दिल्ली, हंङकङ, बैङलोर जानेको त्यही अनुसार छुट्याएर राख्ने हो ।’

    भैरहवाबाट आन्तरिक उडानमा काठमाडौँ गएर काठमाडौबाट फेरि उडानको प्रक्रियाका लागि झन्झट गर्नुपर्दैन। उडान गर्नेका परिवारले भैरहवाबाटै विदाइ गर्न पाउँछन्। परिवारलाई काठमाडौं जाने भाडा र त्यहाँ होटलमा बस्ने खर्च पनि जोगिन्छ।
    भैरहवामा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन भएको एक वर्ष भन्दा बढि भयो। अझै पनि राम्रोसँग नियमित उडान हुन सकेको छैन। केही महिना जजिरा एयरवेजले उडान गरेपनि अहिले उसले उडान रोकेको छ।

    यस्तो अवस्थामा राष्ट्रिय ध्वजावाहक जहाजले अभ्यास सुरु गरेको नेपाल एयरलाईन्सका प्रवक्ता पौडेलको भनाइ छ। अबको १५ दिन भित्र भैरहवाबाट हङकङ र दिल्ली उडान सुरु गर्ने तयारी भइरहेको उनले सुनाए। त्यसको लागि सिष्टम परिक्षण पनि गरि सम्बन्धित निकायहरुसँग समन्वय भइरहेको पौडेलले जानकारी दिए। ‘उडानको तयारीका लागि सबै निकायहरुमा हामीले समन्वय गर्दैछौं। भैरहवाबाट ब्यागेजको काम हुन्छ कि हुँदैन भनेर सिष्टम परिक्षण गर्यौ। सिष्टम परिक्षण पनि सफल भयो’ उनले भने ‘अब जनमानसमा पनि थाह होस भनेर उडानको सुचना जारी गरेका हौं। हाम्रो तयारी १५ दिन जतिमा सकिन्छ होला। अझ त्यो भन्दा अगाडि नै हङकङ र दिल्लीको फ्लाइट खुल्न पनि सक्छ।’

    दुबै देश जाने मान्छे भैरहवाबाट काठमाडौँ भएर जानेछन्। काठमाडौँ जहाजको लागि ट्रान्जीट जस्तो हुन्छ। तर यात्रुको लागि भैरहवामा चेकजाँच गरेपछि जहाँ गन्तव्य त्यही सकिन्छ।अहिले त नेपाल एयरलाइन्सको जहाजमा मलेसियाबाट आएका केही यात्रु झार्ने काम मात्र भएको छ । हङकङ र दिल्लीको उडानबाट जाने यात्रु पनि भए भने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चलायमान हुन्छ।

    मलेसियाको क्वालालाम्पुरबाट भैरहवा अहिलेलाई प्रत्येक मंगलबार उडान भएको छ। तत्काललाई हप्ताको एक पटक मंगलबार नै भैरहवाबाट दिल्ली र हङकङ उडान हुने नेपाल एयरलाईन्सका प्रवक्ता पौडेलले बताए। ‘हप्ताको एक दिन सुरु गरौं। त्यसले बजार तान्दै जान्छ। प्यासेन्जर बढ्दै गए, बुकिङ बढ्दै गयो भने भैरहवाबाट उडान बढाउन पनि सकिन्छ। अभ्यास गर्दै जाने हो अभ्यासमा सफल हुँदै गइयो भने थप अगाडि बढ्ने हो।’ उनले भने।