२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • चितवन राष्ट्रिय निकुञ्जमा शनिबारदेखि जिप र डुंगा सफारी बन्द हुने

    चितवन – चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गते शनिबारदेखि जिप सफारी र डुंगा सफारी बन्द हुने भएको छ। वर्षाका कारण अर्को सूचना जारी नहुँदासम्मको लागि दुबै सफारी बन्द गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। ‘खोलामा बाढी आउने भएपछि डुंगा डेन्जर हुन्छ। वर्षाले गर्दा बाटो विग्रने, रुख ढल्ने जस्ता कारणले जिप सफारी बन्द गरिएको हो।’ उनले भने ‘मनसुन सिजनमा चाँही हामीले बन्द गर्ने गर्छौ।’

    निकुञ्जको कोर एरियामा जिप सफारी बन्द भएपनि सामुदायीक बन क्षेत्र तर्फ सञ्चालन हुने तिवारीले बताए। बफर जोनमा हात्ती सफारी र जंगल वक जारी रहने उनको भनाइ छ । मौसम सुधार भएर वर्षा हुन रोकिएपछि अर्को सुचना जारी गरेर जिप र डुंगा सफारी खोल्ने निकुञ्जले जनाएको छ।

    चालु आर्थिक वर्ष २०७९÷८० को ११ महिना अर्थात जेठ मसान्तसम्म दुई लाख ८८ हजार ३५९ जनाले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन्। निकुञ्जमा ६४ किसिमका स्तनधारी जनावर, छ सय प्रजाति चरा, ५९ किसिमका उभयचर तथा सरीसृप र १२० प्रजातिका माछा भेटिएको विभिन्न अध्ययनले जनाएको छ। यस्तै ५० किसिमका घाँस, १६ किसिमका सुनगाभा, ७३ किसिमका उन्यु, सयभन्दा बढी प्रकारका वनस्पति पाइन्छ।