२०८१ आश्विन २१ गते, सोमबार ११:१०
  • ६ महिनामा तेस्रो मुलुकबाट ३५ हजार पर्यटक लुम्बिनी आए, गत वर्ष भन्दा १० गुना बृद्धि


    बुटवल -सन २०२३ सुरु भएसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा विदेशी पर्यटकको आगमन आशालाग्दो देखिएको छ । कोरोना संक्रमणबाट झण्डै साढे २ वर्ष संकटमा परेको लुम्बिनीमा केही महिना यता चहलपहल बढेको हो । पछिल्लो ६ महिना यता लुम्बिनीमा नेपाल र भारत बाहेक तेस्रो मुलुकबाट ३५ हजार ६०४ जना पर्यटक आएका छन्।

    अघिल्लो वर्षको तुलनामा यो वर्ष लुम्बिनी आउने राहदानी वाहक पर्यटक १० गुनाले बढेका हुन् । सन २०२२ मा जुन महिनासम्म ३ हजार २९४ मात्र तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए । त्यस अघि २०२२ र २०२१ मा भने कोरोनाका कारण लुम्बिनी सुनसान जस्तै थियो। २०२२ मा आन्तरिक र केही मात्रामा भारतीय पर्यटकहरुको चहलपहल भएपनि तेस्रो मुलुकका पर्यटकको आगमन यो वर्ष बढ्न थालेको हो।

    ६ महिना यता लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकमा सबैभन्दा बढि थाइल्याण्डका छन् । थाइल्याण्डबाट २०२३ यता ८ हजार २९८ पर्यटक लुम्बिनी आएका छन् । यस्तै श्रीलंकाबाट ५ हजार ७३७ र म्यानमारबाट ५ हजार ४१९ पर्यटक लुम्बिनी आएका छन्।

    भियतनामबाट ३ हजार ३५९, दक्षिण कोरीयाबाट ३ हजार ४१ र चिनबाट १ हजार ६०१ पर्यटक लुम्बिनी आएको कोषको तथ्यांकमा उल्लेख छ। अन्य मुलुकका आगमन दर एक हजार भन्दा कम छ।लुम्बिनीमा पर्यटकको चहलपहल बढेको भएपनि कोभिड भन्दा अघिको अवस्था अझै छैन।कोरोना अघि सन २०१९ को जुन महिनासम्म ८३ हजार ११९ पर्यटक लुम्बिनी आएका थिए। यो संख्या २०२३ को तुलनामा दोब्बर भन्दा बढि हो। तर आगामी सिजनमा पर्यटक आगमन अझ बढ्न सक्ने अनुमान गरिएको छ।

    दशैं तिहारपछि लुम्बिनीको पर्यटन आगमनमा अझ बढ्ने लुम्बिनी होटल संघका निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठले बताए। ‘यो वर्ष सुनसान भएन पर्यटक आगमनमा सुधार देख्न पाइयो । विदेशीहरुको चहलपहल राम्रो भयो’ उनले भने ‘अब नोभेम्बरबाट विदेशी पर्यटक अझ धेरै आउलान भन्ने आशा गरेका छौं।’ श्रेष्ठले लागि बुटवल नारायणगढ सडक निर्माणको ढिलाइका कारण केही चुनौति रहेको भन्दै सडक निर्माण छिटो सक्न आग्रह गरे । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नियमित र पूर्ण रुपमा सञ्चालन हुनुपर्ने उनको भनाइ छ।

    सन २०२३ यता लुम्बिनी घुम्न आएका आन्तरिक र विदेशी पर्यटक गरि कुल महिनामा ५ लाख २४ हजार ६३३ पर्यटक लुम्बिनी आएका छन्। जस मध्ये ३ लाख ५५ हजार ८५० नेपाल भित्रैका पर्यटक रहेका छन् । ६ महिनामा लुम्बिनी घुम्ने भारतीयको संख्या १ लाख ३३ हजार १९९ रहेको छ।