२०८१ आश्विन २१ गते, सोमबार ११:११
  • सिद्धार्थले राजकीय जीवन त्याग गरेको सम्झनामा तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाइयो

    तौलिहवा– कपिलबस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाइएको छ। राजकुमार सिद्धार्थले राजकीय जीवनसहित राजप्रासाद त्याग गरेको क्षणको सम्झनामा पर्यटकीय आकर्षण बढाउन यो दिवस मनाइएको हो । तिलौराकोटमा सोमबार राती सिद्धार्थ घोडामा चढेर पूर्वीद्वाराबाट दरबार छाडेको देखाइएको थियो।

    २५ सय १८ वर्ष अघि राजकुमार सिद्धार्थले प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोटबाट सम्पूर्ण राजशी सुखसयल लगायत पारिवारिक जीवनलाई त्याग गरेका थिए। राजकुमार सिद्धार्थले कन्थक नामको घोडामा चढेर पूर्वीद्वाराबाट महाभिनिष्क्रमण गरेका लुम्बिनी विकास कोष तिलौराकोटका प्रमुख माधव प्रसाद आचार्यले बताए।

    दिवसका परिकल्पनाकार विक्रम पाण्डे काजीले बोधगाया देखि लिएर बुद्धसँग सम्बन्धित क्षेत्र तिलौराकोट दरबार र राजकुमार सिद्धार्थले पूर्वीद्वाराबाट गृह त्याग गरेकाले विशेष महत्त्व राखिएको बताए। आउने दिनमा यो विशेष महत्वलाई पर्यटन आकर्षणको रूपमा विकास गरेर यो क्षेत्रमा समृद्धि ल्याउने परिकल्पना रहेको उनको भनाइ छ।

    तिलौराकोटमा राजकुमार सिद्धार्थले २९ वर्षको युवा अवस्था बिताएका थिए। महाभिनिष्क्रमणको महत्त्व बुझाउँदै बुद्धको जीवनीसँग जोडिएको गुरु पूर्णिमामा गृहत्याग गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न दिवस मनाइएको हो।