२०८१ आश्विन २१ गते, सोमबार १५:१७
  • मणिमुकुन्द सेन उद्यानमा नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    बुटवल- बुटवलको मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबारी) को पाँचौँ अधिवेशनले माधवप्रसाद नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।उद्यानको उपाध्यक्षमा रमेशप्रसाद नेपाल र माधव श्रेष्ठ, महासचिवमा युवराज घिमिरे, सचिवमा ज्ञानप्रसाद अर्याल र कोषाध्यक्षमा मिलेन्द्र श्रेष्ठ चयन भएका छन्।

    सदस्यहरुमा बुद्धिराज थापा, राजुप्रसाद लिगल, त्रिविक्रमराज बस्याल, सन्तोष श्रेष्ठ, प्रकाशबहादुर कुमाल, विमला श्रेष्ठ र भगवती बस्याल घिमिरे निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। उद्यानको लेखा समिति संयोजकमा भोजबहादुर बुढाथोकी तथा सदस्यमा माधव श्रेष्ठ र राजेन्द्रराज अमात्य चयन भएका छन्। दुई उपाध्यक्ष र पाँच खुल्ला सदस्यको लागि मतदान भएको हो भने अध्यक्ष सहित बाँकी पदमा निर्विरोध भएको हो ।

    नवनिर्वाचित अध्यक्ष नेपाल होटल तथा पर्यटन व्यवसायसँगै विभिन्न संघसंस्थामा आबद्ध रहेका छन्। उनी यसअघि उपाध्यक्ष थिए। नवनिर्वाचित अध्यक्ष नेपालले आन्तरिक तथा बाह्य पर्यटनको प्रमुख गन्तव्य बनाउन गुरुयोजनाअनुसार भौतिक निर्माण तथा पार्कको सौन्दर्यकरणका कामहरु अगाडि बढाइने उल्लेख गरे। साथै उनले फूलैफूलको फूलबारी बनाउने अभियानलाई आफूले पूर्णता दिने बताए ।

    पाँचौं अधिवेशन तथा १५ औं साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले यस्ता पार्कहरुले पर्यटन विकासमा ठूलो टेवा पु¥याउने बताए। उद्यानमा जीर्ण अवस्थामा रहेको मणिमुकुन्द सेन राजाको दरबारको संरक्षण गर्न प्रदेश सरकारले सहयोग हुनुपर्ने भन्दै त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने उनले उल्लेख गरे।

    कार्यक्रममा निवर्तमान अध्यक्ष खेमप्रसाद लुइँटेल, लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, नेकपा एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी लगायतले बोल्दै राष्ट्रको गहनाका रूपमा रहेको उद्यानलाई अझै सुन्दर बनाउन एक आपसमा बाझिनुभन्दा पनि विकास निर्माणका काममा मिलेर अगाडि बढ्नुपर्ने बताए।

    राजा मणिमुकुन्द सेनको शीतकालीन दरबारसमेत रहेको फूलबारी ऐतिहासिक र पुरातात्विक स्थल हो । मणिमुकुन्द सेन उद्यानमा आन्तरिक मात्र नभई भारतबाट समेत पर्यटक आउने गर्दछन्।