२०८१ आश्विन २१ गते, सोमबार ११:०१
  • दुई तिहाइले घट्यो लुम्बिनी विकास कोषमा सरकारबाट आउने अनुदान

    साउनको पहिलो साता नीति कार्यक्रम र बजेट ल्याउँदै कोष

    बुटवल– लुम्बिनी विकास कोषको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम र बजेट बारे अहिले आन्तरिक रुपमा छलफल चलिरहेको छ। ३ दिन अघि कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले सदस्य सचिव, योजना प्रमुख र विभिन्न महाशाखा र शाखा प्रमुखहरुसंग आगामी नीति कार्यक्रम र बजेटको बारेमा छलफल सुरु गरेका थिए। त्यसयता विभिन्न चरणमा छलफल भइरहेको कोषका सुचना अधिकृत हरि राइले जानकारी दिए। ‘अहिले शाखागत र महाशाखागत रुपमा पनि छलफल भइरहेको छ।’ उनले भने ‘विगतमा भन्दा अहिले राम्रोसँग छलफल भइरहेको छ । कोषाध्यक्षज्युले त्यही बमोजिम यो छलफलको अभ्यास गरिरहनुभएको छ।’

    कोषको ऐन र नियमावलीमा व्यवस्था भए बमोजिम कोषाध्यक्षले असार मसान्तभित्र नीति कार्यक्रम र आगामी आर्थिक बर्षको बजेट उपाध्यक्षसमक्ष पेश गर्नुपर्ने छ। उपाध्यक्षबाट स्वीकृत भएपछि कोषाध्यक्षले कोषको परिषद बैठकमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछन्।परिषद बैठकले पारित गरेपछि लागू हुनेछ। साउनको पहिलो सातासम्म परिषद बैठक राख्ने गरि तयारी भइरहेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीको अध्यक्षतामा परिषदको बैठक बस्ने गर्दछ।

    सकभर असार भित्रै नीति कार्यक्रम र बजेट पारित गरिसक्नुपर्ने भएपनि मन्त्रीले समय नदिँदा ढिलाई हुने गर्दछ। कोषका कोषाध्यक्षले नीति कार्यक्रम र बजेट दुबै प्रस्तुत गर्ने व्यवस्था छ। चालु आर्थिक वर्षमा नेपाल सरकारले कोषलाई लुम्बिनी गुरुयोजना कार्यन्वयन गर्नको लागि १ अर्ब ५५ करोड रुपैया उपलब्ध गराएको थियो। त्यस्तै आन्तरिक श्रोत तर्फको १७ करोड ४० लाख बराबरको बजेट प्रस्तुत भएको थियो।

    यो वर्ष नेपाल सरकारले लुम्बिनी विकास कोषको लागि विनियोजित बजेट २ तिहाइले घटाएको छ। संघिय सरकारबाट कम बजेट आएका कारण चुनौति थपिएको कोषका कोषाध्यक्ष सिद्दिचरण भट्टराईले जानकारी दिए। ‘गत वर्ष १ अर्ब ५५ करोड आएकोमा यस वर्ष ४५ करोड मात्र आएको छ। त्यसैले चुनौति छ । त्यही पनि हामीले कार्यक्रम बनाएर कन्सेप्ट क्लीययर गर्नुपर्यो।’ उनले भने ‘हामीले थप बजेटको लागि पहल गरिरहेका छौं । बजेट सुनिश्चितताको आधारमा दिन सकिन्छ भनिएको छ हेरौं के हुन्छ।’ संघिय सरकारको अनुदानलाई र आन्तरिक आय समेत गरि यो वर्ष ६० देखी ६५ करोडसम्मको बजेट आउने भट्टराइको भनाइ छ। आन्तरिक श्रोत तर्फको १९ करोडको जतिको बजेट बनाउने कोषको तयारी छ।

    आन्तरिक आयमा सुधार गर्ने, आन्तरिक शुसासनलाई व्यवस्थित गर्ने र गुरुयोजना सम्पन्न गर्ने गरि केन्द्रीय बजेट पार्ने कुरालाई आँफूले प्राथमिकतामा राखेको कोषाध्यक्ष भट्टराइको भनाइ छ।