२०८१ आश्विन २१ गते, सोमबार ११:१०
  • पर्रोहा बोलबाम धाममा चहलपहल, नयाँ मन्दिरमा भक्तजनहरुलाई सहज

    सैनामैना- पश्चिमको पशुपतिनाथ भनेर चिनिने पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङग बोलबम धाममा विहानै देखि भक्तजनहरुको चहलपहल छ। साउनको पहिलो सोमबार रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको बोलबम धाममा विहानै भक्तजनहरु पुगेका थिए। विहान ४ वजेदेखि दर्शनको लागि मन्दिर खुल्ला गरिएको थियो। बोलबम धाममा अहिले नयाँ मन्दिर निर्माण भएको छ।

    नयाँ मन्दिरको ठूलो भएकाले भक्तजनहरुलाई सहज भएको धामका अध्यक्ष रामबली चौधरीले बताए। ‘ठूलो मन्दिर भएकाले फराकिलो र खुल्ला भयो । एकै पटकमा सात ८ जनाले जलार्पण गर्न सक्ने भएकाले लाइन छिटो सरिरहेको छ।’ उनले भने ‘मुल मन्दिरमा दक्षिण र पश्चिमतिरबाट प्रवेश गराइएको छ।’

    मन्दिरमा भक्तजनहरुको व्यवस्थापन र सहजताको लागि समितिका पदाधाधिकारी र सदस्यहरु विहानैबाट खटिरहेको बोलबम धामका महासचिव प्रेमलाल भुसालले बताए। ‘लाइनको व्यवस्थापनको लागि स्वयंसेवकहरु परिलान गरेका छौं । सुरक्षाकर्मीहरु पनि खटिइरहनुभएको छ ।’ उनले भने।

    पर्रोहा बोलबम धाममा यस वर्ष पनि विभिन्न तिर्थस्थलबाट जलार्पण कार्यक्रम आयोजना गरिएको छ। धाममा गत असार १८ गते गुरु पूर्णिमाको दिनबाट जलार्पण यात्रा सुरु भएको छ। जलार्पण यात्राको उद्घाटनसँगै बोलबम यात्रीहरुले कपिलबस्तुको बाणगंगा लक्ष्मणघाटबाट जल लिएर आइ पर्रोहा बोलबम धाममा जलार्पण गरेका थिए। असार ३० गते सैनामैना नगरपालिका वडा नम्बर ३ मा रहेको कालिरहबाट जल ल्याइ बोलबम धाममा अर्पण गरिएको छ।

    यही साउन ११ देखी १४ गतेसम्म नवलपरासीको त्रिवेणी धामबाट पैदलयात्रा गर जलार्पण कार्यक्रम राखिएको छ । साउन २६ गते रिडी र भाद्र ९ गते देवघाट धामबाट सवारी साधन मार्फत गंगाजल ल्याइ बोलबाम धाममा जलार्पण गरिने धामले जनाएको छ।