२०८१ मंसिर १० गते, सोमबार १९:५५
  • रमणीय दृष्यसहितको पदयात्रा अनि बौघा पोखराथोकको उचाइमा हराएको थकान

    ‘प्रत्येक डाँडामा हिल स्टेसनको सम्भावना, तानसेन आसपासमै पर्यटक भुलाउन ३-४ दिनको प्याकेज दिन सकिने रहेछ’

    प्रदीपकुमार पोखरेल

    नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्सको (नाट्टा) पाल्पा च्यापटरले गरेको कार्यक्रममा निमन्त्रणा आएको थियो। यही साउन ६ गते नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्त, बरिष्ठ उपाध्यक्ष चन्द्र थापा र बोर्ड सदस्य म भएर भैरहवाबाट बुटवल हुँदै एकाविहानै पाल्पातर्फ प्रस्थान गर्यौ।

    साढे ७ बजे तानसेन पुगी ऐतिहासिक पाल्पा दरवार अवलोकन गरेर नजिकै रहेको रणउजेश्वरी भगवती मन्दिरतर्फ लाग्यौ।
    नाट्टा पाल्पा च्याप्टरका साथीहरु र पर्यटन व्यवसायीहरु जम्मा हुनुभयो। केहीवेरपछि कार्यक्रम सुरु भयो। नयाँ गन्तव्य खोजीको लागि नाट्टा पाल्पा च्याप्टरले एक दिने पदयात्रा कार्यक्रम आयोजना गरेको रहेछ। तानसेनका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले कार्यक्रमको शुभारम्भ गर्नुभयो। औपचारिक कार्यक्रमलगत्तै पैदलयात्रा सुरुभयो। बौघापोखराथोक पुग्न लामो पैदलयात्रा हिड्नुपर्ने। कहिले यसरी हिडेको थिइन। सक्छु कि सक्दिन, जाउँ कि नजाँउ जस्तो भयो।

    सबैजना हिड्न थालेपछि मैले पनि पाइला सारें। भगवती मन्दिरबाट केही बेर उकालो चढेपछि बतासे डाँडा पुगियो। त्यहाँबाट पक्की सडक रिणीहुँदै गुल्मी जान्छ। हामी पक्की सडकलाई छोडेर दायाँ तर्फको कच्ची बाटो हुँदै अगाडी बढ्यौ।


    कच्ची सडकको बाँया तर्फ पहाडको ढिक, दायाँ तर्फ खोल्सा, अलिपर थुम्काहरु, डाँडाकाँडा कतै फाँट अनि ठाउँ ठाउँमा सुन्दर गाउँबस्तीहरु छन्। निकै पर अग्लाअग्ला पहाड र त्यसपछि हिमाली दृष्य पनि देखिँदो रहेछ।

    नाट्टा पाल्पाका धेरै साथीहरु यो ठाउँसँग परिचित थिए। यसअघि तानसेन आएको भएपनि वरपरका स्थानहरु यसरी घुम्न पाएको थिइन। पैदलयात्राको केहीबेरमा चण्डी भञ्ज्याङ भन्ने ठाउँमा पुगियो। त्यहाँबाट एउटा गोरेटो बाटो ओरालो झरेर खोल्सा जस्तो ठाउँमा पुगियो। यहाँ ऐतिहासिक ठाउँ पो रहेछ। एउटा झाडी पन्छाउँदा त्यसभित्र सुरुङ रहेछ।

    यसलाई नेपालको पहिलो सुरुङ मानिदो रहेछ। झण्डै सयवर्ष अघि पाल्पाका तत्कालिन तैनाथवाला प्रताप शम्सेरले तानसेन बजारमा खानेपानी पुर्याउन यो सुरुङ बनाउन लगाएका हुन भन्ने थाह पाइयो।

    त्यहाँबाट उकालो चढेर आइ चण्डीभञ्ज्याङ बजारमा केहीबेर विश्राम लियौं। त्यहाँ पाल्पाली पहिचान बटुक र चिया खायौं। दुईवटा डाँडा विचमा रहेको चण्डी भञ्ज्याङ कुनै बेला चलेको बजार रहेछ। यो हाम्रा पुराना पुस्तासँग जोडिएको ठाउँ पनि हो । विभिन्न ठाउँका मानिसहरु यहाँ किनमेल गर्न आउँथे। त्यस्तै गुल्मी, स्याङ्जा, प्युठान लगायतका पहाडी जिल्लाबाट तराइ झर्न अनि लाहुर हिडेकाहरु चण्डीभञ्ज्याङ बास बस्ने ठाउँ पनि थियो।

    चण्डीभञ्ज्याङमा केहीबेर बसेर हामी अगाडी बढ्यौ। एकछिन कच्ची मोटरबाटो हिडेपछि त्यसलाई छोडेर गोरेटो हुँदै उकालो चढ्यौं । ठाडो सिडीमार्ग पनि सुरु भयो। पैदलयात्रामा २ जना बालक पनि थिए। उनीहरु कति छिटो कुदेर माथि पुगे। मलाई थकानले ज्यान फत्याक फूतुक गल्यो । एक पाइलो अगाडि जान सकिन, थचक्क सिडीमा बसें। शरीरमा गहु्रगो भयो, अर्को तर्फ परका रमणीय दृष्यले भने मन निकै आनन्द बनायो । यही मेसोमा एक्कासी एउटा गित फूर्यो, मोवाइल निकालेर चिच्याएर गाउन थालेँ।

    यो खोला, यो पानी,
    यो मौसम यो पहाड,

    आजभन्दा ६–७ दशक अघि लोक गायक रक्की थापा गुल्मीबाट बर्मा जानुभएको थियो। उकाली ओराली यात्राका क्रममा उहाँले यो गीत बनाउनुभएको थियो। पैदलयात्रामा एक्कासी यो गित आयो। यी रमणीय दृष्यसहित आफ्नो आवाजलाई मोबाइलमा खिचेर पाइला सार्ने प्रयास गरे।

    म र दुई तिनजना साथीहरु विस्तारै हिडेर अगाडि गएका साथीहरुलाई पच्छाउन खोज्यौ।

    उकालो चढेर अलि माथी पुगेपछि विश्राम गरेर दृष्य नियाल्ने ठाउँ रहेछ। केही बेर यहाँ पनि थकाइ मार्यौ । फेरी उकालोसँगै साँघुरो कतै कतै रुख र झाडीले ढाकिएको सानो गोरेटो बाटो हिड्यौँ ।

    अलि सजिलो सिडीमार्ग देखा पर्यो। करिब ५० मिटर जतिको सिडीमार्ग चढेपछि अर्को एतिहासिक ठाउँमा आइपुगियो। चेचिकोटको सातविसबौघा भन्ने यो ठाउँमा आइपुगेपछि यात्राका सबै साथीहरुसँग भेट भयो। यो विगतका राजाहरुसँग जोडिएको ठाउँ रहेछ। तत्कालिन राजाका पण्डीतको नामसँग जोडेर यो ठाउँलाई रतन पाँडे मन्दिर पनि भनिने रहेछ।

    चेचिकोटबाट नजिकै देखिने अर्को डाँडामा हामी पुग्नुपर्ने अन्तिम गन्तव्य हो। ओरालो झर्दा बाटोमा बाघ देउराली भन्ने ठाउँ रहेछ। ढुंगाको आकृती बाघ जस्तै पो रहेछ। कच्ची मोटरबाटोमा झरेर केहीबरे हिडेपछि तानसेन १२ को वडा कार्यालय भएको ठाउँ बौघापोखराथोक पुगियो। त्यहाँबाट फेरी पैदल अगाडी बढ्यौं। मोटरबाटोलाई छाडेर पहाडको ढिकैढिक उकालो चढ्यौ।

    घरको करेसो, बारीका कान्ला हुँदै हिडेर हामी क्याम्प फायर स्टेसनमा पुग्यौं। यहाँ पनि कति मज्जाको ठाउँ खुल्ला, हरियाली, प्राकिृतीक रुपमा आनन्द लिन सकिने खालको रहेछ। क्याम्प फायर स्टेसनबाट केही उचाइमा थाम्के डाँडा पुगियो आजको हाम्रो अन्तिम गन्तव्य यही हो।

    यहाँ अग्लो ट्रिहाउस बनेको रहेछ। रुखलाई सपोर्ट दिएर फलामे डण्डीले बनेको रहेछ । ट्रि हाउसको भर्याङ चढेर माथि पुगियो। आहा कति सितल कति आनन्द, परपरसम्मका रमणीय दृष्यले लामो हिडाइको त्यो थकान एकैछिनमा कता हरायो कता।

    उचाइमा रहेको थाम्केडाँडाबाट हामी आएको बतासेडाँडा, अलि परको भैरबस्थान, गुल्मीको रेसुंगा, अर्घाखाँची र स्याङजाका विभिन्न पहाडी दृष्यहरु नियाल्न सकिने रहेछ। त्यसबाहेक माछापुछ्रे्, अन्नपूर्ण लगायतका हिमश्रींखलाहरु देख्न पाइने। तर बादल लागेकाले प्रष्टसँग हिमाली दृष्य भने देख्न पाइएन। सोही ठाउँमा एडभेन्चर स्विङ पनि बनाइएको रहेछ।

    केही बेर दृष्य नियालेपछि नजिकैको क्याम्प फायर स्टेसनमा झरेर खाना खायौं। पैदलयात्राका साथीहरु र स्थानियहरुसँग केही बेर नाचगानको रमाइलो पनि भयो।दिउसो २ बजे हामी फर्किनको लागि ओरालो झयौं । नाट्टा पाल्पाले बतासेडाँडा पुगेर सो दिनको पदयात्राको समापन कार्यक्रम राखेको थियो।

    हामी टाढा जानुपर्ने भएकाले समापन कार्यक्रममा सहभागी नभई नाट्टा पाल्पाका अध्यक्ष राजिवकुमार शाह, सचिव सतिषराज शाक्य लगायत साथीहरुसँग विदा भएर निस्कियौं। पैदलयात्राका क्रममा कतिपय घरको तुल्सीको मठमा तुल्सीको विरुवा थिएनन्। घरमा ढोका लगाएको अनि आँगन भरि झार उम्रिएको दृष्य मनै चुँडीने खालको थियो। बसाइ सराइले मानिसहरुको चाँप कम हुँदै छ । तर परिवार भएका घरमा पुग्दा कति रमाइलो लाग्ने।

    एउटा ताल हेर्न हामी यहाँबाट नैनीताल पुग्छौँ । पाल्पामा त जता घुमे पनि आनन्दको ठाउँ छ। पर्यटनको खानी रहेछ, प्रत्येक डाँडामा हिल स्टेसनको सम्भावना छ। तानसेन आसपासमै पर्यटकहरुलाई भुलाउने गरि ३ – ४ दिनको प्याकेज दिन सकिने रहेछ। यीनै कुराहरुको चर्चा गर्दै हामी तानसेनबाट बुटवल र भैरहवा तिर प्रस्थान गर्यौ।