२०८१ आश्विन २१ गते, सोमबार ११:०९
  • लुम्बिनी विकास कोषको यो वर्षको बजेट ६७ करोड ३ लाख

    आन्तरिक तर्फ २३ करोड ३ लाख, गुरुयोजना कार्यान्वयनका लागि ४५ करोड

    लुम्बिनी– लुम्बिनी विकास कोषले चालु आर्थिक वर्ष २०८०/८१ को लागि ६७ करोड ३ लाखको बजेट सार्वजनिक गरेको छ । कोषको परिषद बैठकमा कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्दिचरण)ले बार्षिक बजेट प्रस्तुत गरेका हुन्। जस अनुसार लुम्बिनी गुरुयोजना कार्यान्वयनको लागि संघिय सरकारबाट प्राप्त अनुदान ४५ करोड रहेको छ। आन्तरिक आय तर्फ २३ करोड ३ लाख रुपैया रहेको कोषाध्यक्ष भट्टराइले बताए।

    संघिय सरकारले गुरुयोजना कार्यान्वयन तर्फको बजेट झण्डै दुई तिहाइले घटाएको छ । अघिल्लो वर्ष कोषलाई संघिय सरकारबाट १ अर्ब ५५ करोड उपलब्ध गराएको थियो। कोषको आन्तरिक तर्फको बजेट भने गत वर्षको तुलनामा ५ करोड ६३ लाख बढि छ । अघिल्लो आर्थिक वर्षमा आन्तरिक तर्फ १७ करोड ४० लाख विनियोजन भएको थियो।

    कोषको अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीको अध्यक्षतामा लुम्बिनी विकास कोषको परिषदको बैठक बसेको थियो। बैठकमा चालु वर्षको नीति तथा कार्यक्रम पनि पेश भएको छ। परिषद बैठकमा नीति कार्यक्रम माथि केही सुझाब आएको आएका सुझाबलाई समेटेर पेश गर्न कार्यदल बनाइएको कोषका प्रशासकिय अधिकृत ज्ञानिन राइले बताए।